काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ



इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठूलो परिणाममा गाजा बरामद भएको छ । तरकारी (शब्जी)को आवरणमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले गाजासहित दुई जनालाई पक्राउ गरेको हो ।

काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ५६६ किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन् । चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा फेला परेको हो । ट्रक रोकेर जाँच गर्दा काउलीको बीचमा लुकाइएको गाँजा भेटिएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रक धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएका थिए । प्रहरीले चालक राईसँगै सोही ठाउँका १८ वर्षीय सहचालक सदीप राईलाई पक्राउ गरेको छ ।

तरकारी ढुवानीको सामान्य आवरणमा गाँजा ओसारपसार भइरहेको भेटिएपछि प्रहरीले ट्रक समेत नियन्त्रणमा लिएको छ । बरामद गाँजा, ट्रक र पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान अघि बढाइएको इन्स्पेक्टर ओलीले बताए ।

प्रहरीले दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्‍याउने योजना थियो भन्ने खुलेको छैन ।

धनकुटा लगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, यसको वास्तविकता र कारोबारमा संलग्न अन्य व्यक्तिका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ९ : २५ बजे