प्रविधिको युगमा शिक्षा व्यावहारिक र मानवीय मूल्यमा आधारित हुनुपर्छ : राष्ट्रपति पौडेल



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई अझ बढी व्यावहारिक र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन्। 

शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई परीक्षा केन्द्रित नभई राष्ट्रप्रति जिम्मेवार र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार गर्नुपर्ने बताएका हुन्।

राष्ट्रपति पौडेलले विश्वव्यापी रूपमा भइरहेको तीव्र परिवर्तनलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष सुधारको खाँचो रहेको उल्लेख गरे। शिक्षालाई केवल सैद्धान्तिक ज्ञान आर्जन वा राम्रो अङ्क ल्याउने माध्यमका रूपमा मात्र नबुझ्न आग्रह गर्दै उनले विद्यालय स्तरदेखि नै विद्यार्थीमा राष्ट्रियताको भावना र सामाजिक मूल्य मान्यताको विकास गराउन सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताए।

समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ। विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्न आवश्यक छ। तर प्रविधिसँगै मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलता पनि उत्तिकै सुदृढ हुनुपर्छ।’

उनले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्नुपर्नेमा जोड दिए। शिक्षाको उद्देश्य परीक्षामा राम्रो अङ्क ल्याउनु मात्र नभई समस्या समाधान गर्न सक्ने, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्नु रहेको बताउँदै उनले यसका लागि सरकार, नीति निर्माता, विद्यालय र समुदायबिच सहकार्य आवश्यक रहेको उल्लेख गरे। 

विगतका उपलब्धिलाई जग बसाल्दै आगामी दिनमा नीति निर्माता, शिक्षक र अभिभावकले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ११ : ३१ बजे