एमाले स्थायी कमिटी बैठकले गर्‍यो ७ निर्णय



काठमाडौँ । नेकपा एमालेले मङ्सिर पहिलो साता पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । बैठकले मङ्सिर २६ गते पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन र पुस ४ गते नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

साथै पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले पार्टीका अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रुपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय समेत गरेकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटीको प्रथम बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यही असोज २२ गतेदेखि तीन दिनसम्म चलेको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूका अधिवेशन, राष्ट्रिय भेलाको आयोजना लगायत निर्णय गरेको छ । बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

बैठकले गरेका निर्णयहरू यस प्रकार छन्-

१. पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन आगामी मङ्सिर २६ गते सम्पन्न गर्ने । 

२ . नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने । 

३. आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने छ । ४. पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने । 

५. बैठकले मधेस प्रदेश सभामा पार्टीका सभासद् जैनब खातुनको निधन भएको हुँदा समानुपातिकतर्फको उक्त रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ । 

 ६. बैठकले पार्टीका अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ । 

७. बैठकले देहाय बमोजिम १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ । 

मनोनयन हुनेहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा.पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) हुनुहुन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ४ : ३१ बजे