करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु



रौतहट : बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामचन्द्र महतोकी ४५ वर्षीया श्रीमती सिरिया देवी महतो रहेकी छन्।

शनिबार दिउँसो करिब १ः४५ बजे आफ्नै घरपछाडि सरसफाइ गर्ने क्रममा नाङ्गो तार छुँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी सिरियालाई उनका श्रीमान् रामचन्द्रले उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि दिउँसो २ बजे उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृतकको शव सिटी स्टार अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ५ : ४४ बजे