दसैँको समयमा कर्णालीमा ६५ वटा सवारी दुर्घटना, ६ जनाको मृत्यु



सुर्खेत : दसैँको अवधिमा कर्णाली प्रदेशमा ६५ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार, घटस्थापनाको दिन (असोज २५) देखि हालसम्म यी दुर्घटनाहरू भएका हुन् । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन् ।

जिल्लागत रूपमा सुर्खेतमा ३१ वटा सवारी दुर्घटना हुँदा ६४ जना घाइते भएका छन् । रुकुम पश्चिममा १४ वटा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने जाजरकोटमा ६ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

यस्तै, जुम्ला र हुम्लामा भएका १/१ वटा सवारी दुर्घटनामा १/१ जनाकै मृत्यु भएको छ । बाँकी जिल्लामा सवारी दुर्घटना धेरै भए पनि मृतक सङ्ख्या छैन ।

सल्यानमा ६ वटा गाडी दुर्घटना हुँदा १३, दैलेखमा ५ वटा गाडी दुर्घटनामा परी ९ र डोल्पामा १ वटा सवारी दुर्घटनामा एकै जना घाइते भएका छन् । कालिकोट र मुगुमा यो वर्ष सवारी दुर्घटना नभएको प्रदेश ट्राफिकका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बिसीले बताए ।

गत वर्षको दसैँको अवधिको तुलनामा यो वर्ष मानवीय क्षति भएन । उनका अनुसार, गत वर्ष दसैँको अवधिमा १५५ जना घाइते भएका थिए भने ७ जनाको मृत्यु भएको थियो । १ हजार ३३८ वटा सवारी कारबाही, १२ लाख राजस्व सङ्कलन ट्राफिक प्रहरीका अनुसार, दसैँका समयमा नियम उल्लङ्घन गर्ने १ हजार ३३८ वटा सवारी साधनलाई कारबाही गरिएको छ । जसबाट १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । यस्तै, २४६ जना मापसे कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, आइतबार  ३ : ४२ बजे