सप्तकोसीमा ओभरलोडको कारण डुंगा दुर्घटना



सुनसरी : सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट दुर्घटना हुँदा एक पाँच वर्षीया बालिकासहित तीन जनाको ज्यान गएको छ।

आइतबार दिउँसो करिब २ बजे भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल मानिने त्रिवेणी नजिकै अनियन्त्रित भई पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा ५ वर्षीया बालिका, ३५ वर्षीया महिला र ४० वर्षीय पुरुष रहेका छन्। मृतकहरूको सनाखत हुन बाँकी रहेको र उनीहरूको शव पोस्टमार्टम तथा पहिचानका लागि चतरा अस्पतालमा राखिएको छ।

दुर्घटनापछि मोटरबोटका चालक सुमन मगर भने पौडिएर बाहिर निस्कन सफल भएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीको प्रारम्भिक छानबिन अनुसार ११ जनाको मात्र टिकट काटिएको देखिए पनि बोटमा क्षमताभन्दा बढी १६ जना सवार रहेका थिए। नियन्त्रणमा रहेका चालकले ११ जना यात्रु र बाँकी ५ जना आफ्नै आफन्तहरू बोटमा सवार रहेको बयान दिएका छन्। क्षमताभन्दा बढी यात्रु (ओभरलोड) र नदीको तीव्र बहावका कारण बोट दुर्घटनामा परेको अनुमान गरिएको छ।

दुर्घटनास्थल धनकुटाको भौगोलिक सीमाभित्र परे पनि विकट भौगोलिक कठिनाइका कारण त्यहाँबाट उद्धार टोली पुग्न ढिलाइ हुने भएपछि सुनसरीको बराहक्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोरसहितको संयुक्त टोली तत्काल परिचालन गरिएको थियो। उद्धार टोलीले अन्य यात्रुहरूको सकुशल उद्धार गर्नुका साथै खोजी कार्य जारी राखेको छ।

नेपालमा विशेष गरी दशैँ-तिहार जस्ता ठूला पर्वहरूमा पहाडी तथा दुर्गम क्षेत्रमा यातयातका साधनमा यात्रुको चाप उच्च रहने र क्षमताभन्दा बढी यात्रु बोक्दा यस्ता जोखिमपूर्ण दुर्घटनाहरू दोहोरिने गरेका छन्। घटनाको वास्तविक कारण र प्राविधिक त्रुटिबारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, आइतबार  ६ : ११ बजे