काठमाडौं : बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी तथा कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै गोरखा र सुर्खेतका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक सुचारु रहेको जानकारी दिएको हो । बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका वडा नं.२, ३ र ९ स्थित नयाँपुल क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने राजमार्ग हालसम्म पूर्ण रूपमा अवरुद्ध रहेको छ । बाढीले गोरखाको आरुघाट गाउँपालिका—९ नयाँपुल स्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा भने हाल साना सवारी साधन मात्र सञ्चालनमा आएका छन् ।
कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका—७ औंलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग प्रभावित भएको छ । पहिरोका कारण अवरुद्ध भएको उक्त राजमार्गमा हाल एकतर्फी रूपमा मात्र यातायात सुचारु भइरहेको प्रहरीको विवरणमा उल्लेख छ ।





प्रतिक्रिया