काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आरोप लगाइएकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताएका छन् ।
सार्वजानिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिका संयोजक समेत रहेका उनले बिहीबार बैठकपछि सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
उपसमितिले पोसाक खरिद प्रक्रियाको गहिरो अध्ययन गरी आवश्यक सुझाव मात्र दिने उनले स्पष्ट पारे । उपसमितिले अध्ययनका क्रममा कसैलाई दोषी ठहर गर्ने वा कुनै अधिकारीमाथि कारबाहीको निष्कर्ष निकाल्ने काम तत्काल नगर्ने बताए ।
“यो उपसमितिले अध्ययन गर्ने हो । अध्ययनले कहिले पनि निर्णय सुनाउँदैन, सिफारिसको कुरा हुन्छ,” उनले भने, “त्यसैले गर्दा हामीले प्रतिवेदन लेख्ने, सिफारिस गर्ने, निष्कर्ष सुनाउने हुन्छ ।”
अध्ययन र अनुसन्धानअघि नै कुनै व्यक्तिले गल्ती गरेको निष्कर्ष निकाल्नु पूर्वाग्रही सोच हुने उनको भनाइ छ । “राजनीतिमा गल्ती हुने यही हो नि, प्रिअकुपाइड माइन्डले गरिने कुराहरूले नै गल्ती हुने हो,” उनले भने, “हामी अध्ययन, छलफलमा बस्छौँ, तर फलानो फलानो भ्रष्ट हो, यति यस्तो गरेको छ भनेर बोल्नु राजनीतिक र व्यावहारिक कमजोरी हो, त्यो गर्नु हुँदैन ।”





प्रतिक्रिया