सिँचाइ विभागका डीजी र सुनकोशी मरिणका आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा



काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्रीको कार्यालयले नियन्त्रणमा राखेको छ । बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहान र आयोजना प्रमुख (सहसचिव) रिजाललाई सिन्धुलीबाट पक्राउ गरेर काठमाडौँ पठाएको थियो । 

प्रहरीका एकजना अधिकृत भन्छन्, ‘पक्राउ गरेर हामीले काठमाडौँ पठाएका थियौँ ।’ उनीहरू अहिले प्रहरीको कुनै पनि युनिटमा छैनन् । प्रहरीको स्रोतका अनुसार दुवै जनालाई सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियन्त्रणमा राखिएको छ ।

सुनकोशी मरिण डाइभर्सनको ठेक्काको विषयमा उनीहरुलाई नियन्त्रणमा लिइएको सिँचाई मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । 

राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सनको ठेक्का एकपटक रद्द भएर पुनः ठेक्का प्रक्रिया अघि बढाइएको छ । नयाँ ठेक्का प्रक्रिया सुरु गरेर आयोजनाले आर्थिक प्रस्ताव खेलेको छ । नयाँ ठेक्का प्रक्रियामा ३ चिनियाँ कम्पनी योग्य ठहरिएका छन् । जसमा  मेसर्स चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन , मेसर्स एन्नेङ–आरसीसी जेभी र मेसर्स सिनोहाइड्रो कर्पोरेसन लिमिटेड, चीन रहेका छन् । 

सो ठेक्काको आर्थिक प्रस्ताव कार्तिक १६ मा खोल्ने मिति तय भएको थियो । तर, प्रधानमन्त्रीको सचिवालयले सो ठेक्का पुनः तोडेर नयाँ प्रक्रिया सुरु गर्न दबाब दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार  ११ : ५३ बजे