डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ : गभर्नर पौडेल



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधिको तीव्र विकासले परम्परागत वित्तीय सेवा प्रवाह गर्ने शैलीमा आमूल परिवर्तन ल्याइरहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको ‘वित्तीय सेवाबाट वञ्चित तथा न्यून पहुँच भएका समुदायका लागि डिजिटल ऋण तथा कर्जा सेवा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

गभर्नर पौडेलले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स तथा अन्य नयाँ प्रविधिहरूको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत र प्रभावकारितामा महत्त्वपूर्ण परिवर्तन ल्याउने सम्भावना सिर्जना गरेको उल्लेख गरे।

यस्ता नवप्रवर्तनले वित्तीय समावेशिता अभिवृद्धि गर्नुका साथै वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र समग्र आर्थिक विकासमा समेत ठूलो योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे। नेपाल राष्ट्र बैंकले लामो समयदेखि वित्तीय क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग र डिजिटल सेवाको विकासलाई प्रोत्साहन गर्दै आएको स्मरण गराउँदै उनले नेपालको डिजिटल बैंकिङ यात्रा उल्लेखनीय रूपमा अघि बढेको बताए।

‘विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट सुरु भएको नेपालको डिजिटल वित्तीय सेवाको यात्रा आज मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा अन्य नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको छ,’ गभर्नर पौडेलले भने।

डिजिटल वित्तीय सेवाको तीव्र विस्तारसँगै यसलाई थप सुरक्षित र भरपर्दो बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्थाहरूलाई समेत निरन्तर सुदृढ गर्दै आएको उनले स्पष्ट पारे।

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  २ : ०७ बजे