राज्य सञ्चालनलाई भाँडाकुटी खेलेजस्तो बनाइयो : शंकर पोखरेल



काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिहरूले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरूले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन् । सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति अझै संयमित र जिम्मेवार हुनुपर्नेमा सत्तत्रा सञ्चालनलाई मजाकको विषय बनाइएको टिप्पणी उनको थियो ।

‘प्रधानमन्त्रीका प्रमुख सल्लाहकार भन्दै गर्नुहुन्छ कतिजनाको सूचीमा तिम्रो नाम परेन भने त तिमी के पत्रकार ? भनेर चाहीँ पत्रकारहरूलाई मेन्सन गर्नुहुन्छ । राज्य यस्तो प्रकारको ठट्टा मजाकको विषय बन्न सक्दछ ? जति जिम्मेवार ओहदामा भयो त्यति ज्यादा संयमित र जिम्मेवार हुनुपर्दछ,’ पोखरेलले भने, ‘तर आज हाम्रा मुलुकका कार्यकारी भुमिकामा रहेका मान्छेहरूका सोसल मिडियाका गतिविधिहरू हेर्ने हो पढ्ने हो भने, राज्य बालबालिकाहरूले खेल्ने भाडाकुटी जस्तो विषय बनाइएको छ । राज्य राज्य जस्तो छैन, सरकार सरकार जस्तो छैन । जसले हाम्रो लोकतन्त्रलाई पनि कमजोर बनाइराखेको छ र संविधान र संवैधानिक अंगहरू एक प्रकारले निष्क्रिय बनेका छन् ।’

सरकारका यस्ता गतिविधिहरूले मुलुकको लोकतान्त्रिक व्यवस्थाको भविष्यमाथि समेत संकट उत्पन्न भएको उनको भनाइ थियो । विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संगठन र सञ्चारमाध्यममाथि राज्यको नियन्त्रण बढ्दै गएको समेत उनले बताए । लोकतन्त्रको आधार संगठित हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार भएपनि पछिल्लो समय विद्यार्थी संगठनका गतिविधि प्रतिवन्धित गर्ने, विश्वविद्यालय तथा क्याम्पसमा ट्रेड युनियन अधिकार नियन्त्रण गर्ने र व्यावसायिक संगठनलाई समेत गतिविधि नगर्न निर्देशन दिने काम भइरहेकोप्रति आपत्ति पनि उनले जनाए ।

‘अहिले मुलुकको लोकतन्त्रको भविष्यमाथि पनि संकट उत्पन्न भएको छ । लोकतन्त्रको आधार भनेको संगठित हुने र आफ्ना कुराहरू अभिव्यक्त गर्ने अधिकारकारको रुपमा बुझिन्छ । अहिले नेपालको लोकतान्त्रिक आन्दोलनका फाउन्डेसनका रुपमा रहेका विद्यार्थी संगठनको गतिविधिलाई प्रतिबन्ध लगाउने काम भएको छ,’ पोखरेलले भने, ‘विश्व विद्यालयहरूमा, क्याम्पसहरूमा, ट्रेड युनियनहरूको अधिकारलाई नियन्त्रण गर्ने काम भएको छ । अस्ति मात्रै मैले एउटा समाचार पढ्दै थिएँ । गृहमन्त्रालयको आदेश भनेर व्यावसायिक संगठनहरूलाई पनि रोक लगाउने काम भएको छ ।’

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  ३ : ४७ बजे