काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जेनजी आन्दोलनका घाइतेलाई देशभर निःशुल्क उपचारको व्यवस्था गरिएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गरी २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका सबै व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारले निर्णय गरिसकेको स्मरण गराएको छ। त्यही निर्णयका आधारमा देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको जनाइएको छ।
त्यस्तै, घाइतेको उपचारलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन उपचारसम्बन्धी कार्यविधिलाई समेत परिमार्जन तथा संशोधन गरिएको उल्लेख गरेको छ। संशोधित कार्यविधिअनुसार घाइतेको उपचारमा लाग्ने खर्च सम्बन्धित अस्पताललाई शोधभर्ना उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैगरी, हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायतका विभिन्न अस्पतालमा उपचाररत घाइतेको पनि निःशुल्क उपचार हुने व्यवस्था मिलाइएको जनाइएको छ। ‘घाइतेहरूको स्वास्थ्य अवस्था अनुसार आवश्यक उपचार, थप उपचार तथा फलोअप सेवालाई समेत प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
यससँगै उपचारका क्रममा कुनै समस्या, अन्योल वा थप सहजीकरण आवश्यक परेमा स्वास्थ्यको निःशुल्क हटलाइन नं. १११५ वा मन्त्रालय अन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरमा सम्पर्क गर्न अनुरोध गरेको छ।





प्रतिक्रिया