दैलेख : नेपाली कम्युनिस्ट पार्टी ‘नेकपा’का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ आन्तरिक कलहको उत्कर्षमा रहेको बताएका छन् । नेकपाको राष्ट्रिय जागर अभियानका क्रममा दैलेख जिल्लाका नेता, कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले रास्वपा भित्रको शक्ति संकर्षकै कारण राज्यका निकायहरु विभाजित र कमजोर बनेको बताए ।
राज्यका निकाय कसको प्रभावमा पार्ने भन्ने सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को होडबाजीका कारण राष्ट्रियतासमेत कमजोर बनेको र राज्यका स्थापित संस्थाहरु लथालिङ्ग भएको उनले तर्क गरे । रास्वपा भित्रको कलह उत्कर्षमा पुग्दै गर्दा कुनै पनि बेला बालेनले सभापति रवि लामिछानेलाई थुन्ने वा रविले बालेनको सत्ता हत्याउने अवस्थाको सृजना हुनसक्ने दाबी उनकाे छ ।
नेता पुनले भने, ‘सरकार अहिले भारतसँग लम्पसार परेको छ । कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चार्य नमाने हुन्छ । कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चार्य हुनेछैन ।’
पूर्वअर्थमन्त्रीसमेत रहिसकेका नेता पुनले सरकारको गति संविधान खारेज गर्ने, व्यवस्था खारेज गर्ने र प्रतिक्रान्तिको बाटोमा जाने तर्फ रहेको बताए । जसलाई रोक्न र राष्ट्रियता बलियो बनाउन पनि वामपन्थीहरुबीच एकता र संविधान मान्ने लोकतान्त्रिक दलहरुबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
‘वामपन्थीहरुबीच सहकार्य र ध्रुविकरण गर्ने र संविधान मान्नेहरुकाबीचको सहकार्य पनि आवश्यक छ । एमालेसँग सहकार्य गर्नै पर्छ । खराव प्रबृत्ति र फासिस्ट कार्यशैलीबारे समिक्षा गर्दै सहकार्य गर्दै जानुपर्छ । देशको स्वाधिनता र लोकतन्त्र तथा नेपालमा वैदेशिक चलखेल बढाउने शक्तिविरुद्ध एक भएर लड्नै पर्नेछ ।’
सहकार्य र एकताका लागि अहिले नेकपा एमालेका नेताहरु निक्कै हतारिएको र विभिन्न भेटहरुमा त्यो अभिव्यक्त हुने गरेको उनले जानकारी पनि गराए । सुशासन र समृद्धिको बाटोमा नेकपा पनि हिडोस भन्ने जनताको चाहाना रहेको र सोही अनुसार नेकपाले बैज्ञानिक समाजवादको लक्ष बोकेर हिँडोको उनले बताए ।





प्रतिक्रिया