काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । यस्तै, कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । त्यसैगरी, कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।





प्रतिक्रिया