भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन् ।
शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध ‘जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको’ बताएका हुन् । उनले राष्ट्रिय जागरण अभियानलाई त्यसैको तयारीका रूपमा लिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको उनको आरोप छ । पछिल्लो राजनीतिक परिस्थितिले देशलाई अर्को दुर्घटनातर्फ लैजाने षड्यन्त्रको सङ्केत गरिरहेको दाबी गर्दै दाहालले शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिए ।
उपलब्धिमाथि भइरहेको प्रहारबारे सचेत गराउँदै दाहालले भने– ‘हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्ग र लाखौँ जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि चुनौती देखिएको छ । यसले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने जोखिम उत्पन्न गरेको छ ।’
देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढाउन नयाँ सङ्कल्प र प्रतिबद्धतासहित आन्दोलनमा उत्रिनुपर्ने उनले बताए । शान्ति सम्झौताको ऐतिहासिकता, संविधानको महत्व र सङ्घर्षबाट प्राप्त उपलब्धिबारे जनतालाई सचेत गराउन घरघर र टोलटोलसम्म पुग्नसमेत उनले कार्यकर्तालाई निर्देशन दिए ।
सोही कार्यक्रममा दाहालले वर्तमान राजनीतिक परिस्थितिमा सुकुम्बासी, आदिवासी जनजाति, दलित र महिलालगायत समुदायका अधिकार, हित र पहिचानमाथि विभिन्न ढङ्गले प्रहार भइरहेको बताए । शान्ति सम्झौताले परिकल्पना गरेको नयाँ नेपालको सपना र त्यसबाट प्राप्त उपलब्धि कमजोर पार्ने प्रयास भइरहेको उनको दाबी छ ।
तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बिच भएको ऐतिहासिक शान्ति सम्झौताले करिब २५० वर्ष पुरानो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने आधार तयार गरेको उनले स्मरण गरे । दुईपटकको संविधानसभा निर्वाचनपछि निर्मित समावेशी संविधानले सयौँ वर्षदेखि विभेद, अन्याय र अत्याचारमा पारिएका समुदायलाई राज्यका सबै अङ्गमा प्रतिनिधित्वको सुनिश्चितता गरेको उनको भनाइ छ ।
संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा परिभाषित गरेको उल्लेख गर्दै दाहालले भने ‘दुईपटकको संविधानसभा निर्वाचनपछि हामीले समावेशी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गर्यौँ ।
यस संविधानले लामो समयदेखि विभेद र उत्पीडनमा परेका समुदायको राज्यका सबै निकायमा प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्ने आधार तयार गर्यो । त्यसैले संविधान, लोकतन्त्र, गणतन्त्र, समावेशिता र जनताका अधिकारको रक्षा गर्नु आजको प्रमुख दायित्व हो ।’





प्रतिक्रिया