काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणअघि सरकारले प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल तथा विषय विज्ञहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा शर्माले शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रिय महत्त्वका भ्रमणअघि साझा राष्ट्रिय धारणा निर्माण गर्ने लोकतान्त्रिक अभ्यासलाई सरकारले निरन्तरता नदिएको बताएका हुन् ।
उनका अनुसार कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको थियो । यसका लागि कांग्रेसले गत बुधबार विषय विज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्श समेत गरेको थियो ।
जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्या लगायत विषयमा छलफल गरिएको शर्माले बताए ।
तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल र विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेपछि सरकारले नमागेको औपचारिक सुझाव आफै अघि सार्न उचित नठानेको उनको भनाइ छ ।
शर्माले प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी आवश्यक रहेको बताए ।
सरकारसँग विभिन्न विषयमा असहमति भए पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा कांग्रेसको प्रतिबद्धता स्पष्ट रहेको उनले बताए ।
प्रधानमन्त्रीको भ्रमण क्षणिक लोकप्रियता र प्रचारमा सीमित हुन नहुनेमा जोड दिँदै शर्माले विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माण गर्नुपर्ने बताए ।
उनले भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाभन्दा पनि त्यसबाट नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामले निर्धारण गर्ने उल्लेख गरे । शर्माले प्रधानमन्त्री साहको भारत भ्रमण सफल होस् भन्ने शुभकामना समेत दिएका छन् ।





प्रतिक्रिया