देउवासँग एमाले नेता सूर्य थापाकाे भेट



काठमाडौँ : नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै जोसिलो र राजनीतिक विषयमा स्पष्ट रहेको बताएका छन्।

देउवासँग भएको भेटपछि सामाजिक सञ्जालमा फाेटाे सार्वजनिक गर्दै थापाले ८० वर्षको उमेरमा पनि देउवामा राजनीतिक ऊर्जा र आत्मविश्वास कायम रहेको बताएका हुन्।

थापाले २०८२ भदौ २३ र २४ गतेका घटनाअघिदेखि हालसम्मको राजनीतिक परिस्थिति विश्लेषण गर्दा देउवा आफूले बुझ्नुपर्ने विषय र तथ्यमा स्पष्ट रहेको उल्लेख गरेका छन्।

‘राजनीतिका उकाली–ओराली, भञ्ज्याङ र देउराली सबै थाहा छ। सबैका नियत र नियति देख्नु/भोग्नुभएको छ,’ थापाले लेखेका छन्, ‘राजादेखि रङ्कसम्मका मान, सम्मान, अपमान र भुक्तमान खेपेर पनि निराश हुनुहुन्न।’

थापाका अनुसार अहिले देउवाको मुख्य जोड कांग्रेस १.० को १५औँ महाधिवेशन सम्पन्न गर्ने र पार्टीको आधिकारिकता प्राप्त गर्ने विषयमा केन्द्रित छ। रुख चिह्न प्राप्त गर्नु नै मुख्य विषय भएकोमा देउवा स्पष्ट र दृढ रहेको उनले बताएका छन्।

देउवासँगको भेटलाई ‘देउवा दाजुसँग सात क्लिक’ भन्दै सार्वजनिक गरेका थापाले भेटका गहन पक्ष, राजनीतिक परिदृश्य र परिणाम क्रमशः सार्वजनिक हुँदै जाने बताएका छन्।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १ : २४ बजे