हतकडी लिएर पक्राउ गर्न आउन सरकारलाई थापाको चुनौती



काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्न आउने हो भने हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।

केन्द्रीय समिति बैठकमा मंगलबार बोल्दै थापाले सरकारमाथि प्रश्न गरेकै आधारमा पक्राउ गर्ने वा तर्साउने प्रयास स्वीकार्य नहुने बताए।

‘साथीहरूले पक्राउ गर्ला भन्नुहुन्छ, मैले ती साथीहरूलाई भनेको छु- खाली हात चाहिँ नआउनू, हतकडी लिएर आउनू। खाली हात चाहिँ जान्नँ, यत्ति कुरा हो,’ सभापति थापाले भने।

थापाले कांग्रेस कुनै पनि अनुसन्धानको विपक्षमा नरहेको उनले स्पष्ट पारे। आफ्नो वा अरू कसैको विषयमा अनुसन्धान गर्नुपर्ने भए कानुनअनुसार हुनुपर्ने उनले बताए तर राज्यका संयन्त्र दुरूपयोग भएको अवस्थामा कांग्रेसले प्रश्न उठाउने र जबाफ खोज्ने उनले बताए।

‘कांग्रेस कुनै पनि अनुसन्धानमा अवरोध गर्दैन। मेरो होला, अरूको होला, जोसुकैको होला। कानुनले जहाँ अनुसन्धान गर्नुपर्छ भन्छ, त्यहाँ अनुसन्धान हुन्छ तर राज्यका संयन्त्र दुरूपयोग भएका ठाउँमा हाम्रो प्रश्न रहन्छ, हामी जबाफ खोज्छौँ,’ उनले भने। राज्यका संयन्त्रलाई निजी कम्पनीजस्तो सञ्चालन गर्न खोजिए कांग्रेसले त्यसको विरोध गर्ने उनले बताए।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १० : ३६ बजे