काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलका छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मङ्गलबार दिउँसो मृत्यु भएको छ ।
ट्याक्टर ब्याक गर्ने क्रममा लडेर ट्याक्टरको चक्काले किच्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिराहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित सडकमा नम्बर नखुलेको स्कर्पियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बसन्त महराको मङ्गलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोलबजार हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले फरार स्कर्पियो र चालकको खोजी गरिरहेको छ ।
त्यस्तै नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मङ्गलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी एक जना पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकल चालकको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया