प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय हितका मुद्दा उठाउन असफल भएको टिप्पणी गरेका छन्। उनले सीमा विवाददेखि हवाई रुट र दुई देशबीचका पुराना सहमतिका विषयमा समेत भ्रमणले कुनै ठोस उपलब्धि दिन नसकेको बताएका हुन्।

प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले प्रधानमन्त्रीको भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सरोकारका विषयलाई सम्बोधन गर्न नसकेको बताए। विगतमा राष्ट्रियताको विषयमा अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको हितसँग जोडिएका मुद्दा प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकेको उनको आरोप थियो।

पोखरेलले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ। काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरू माथि व्यङ्ग्य गर्नुहुन्थ्यो। हरेक भ्रमणमा उहाँले अर्ती उपदेश दिनुहुन्थ्यो। अस्ति उहाँ भारत भ्रमणमा जानुभयो। नेपालका हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन,’।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका सीमा विवाद भ्रमणका क्रममा छलफलको विषय नै बन्न नसकेको दाबी गरे। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समेत ती विषय भ्रमणको कार्यसूचीमा नरहेको बताएको उल्लेख गर्दै पोखरेलले यसलाई सरकारको कमजोरीका रूपमा व्याख्या गरे।

नेपाल–भारत सम्बन्धका विषयमा सुझाव दिन एमाले नेतृत्वको सरकारका पालामा गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयनबारे पनि प्रधानमन्त्रीले भारतसँग कुरा उठाउन नसकेको उनको भनाइ थियो। भारतले प्रतिवेदन बुझ्नसमेत आनाकानी गरिरहेको अवस्थामा त्यसलाई स्वीकार गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्रीले पहल गर्नुपर्ने पोखरेलले बताए।

त्यस्तै, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा पनि भ्रमणबाट अपेक्षित प्रगति नभएको उनले टिप्पणी गरे।

पोखरेलले भने,’हिजो हवाई रुट नदिएर अड्किएको थियो, आज उडानको उचाइ कति हुने भन्ने बहसका नाममा नेपालले प्रयोग गर्न नपाउने स्थिति उत्पन्न हुन सक्छ,’।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १२ : ४१ बजे