जलवायु परिवर्तनसम्बन्धी वार्ता पुनः सुरु गर्न अमेरिकी राजदूत केरी चीन भ्रमणमा



बेइजिङ । जलवायुमामिला हेर्ने अमेरिकी विशेष प्रतिनिधि जोन केरी विश्वका दुई ठूला ग्यास उत्सर्जकबीच रोकिएको वार्ता पुनः सुरु गर्न आइतबार चीन आइपुगेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबारदेखि चीन र संयुक्त राज्य अमेरिकाबीच जलवायुसम्बन्धी विषयमा गहन विचार आदानप्रदान हुने सरकारी प्रसारक सीसीटीभीले जनाएको छ ।

केरीको चीन भ्रमणका क्रममा समकक्षी सी झेनहुआसँग भेटवार्ता हुने कार्यक्रम छ । उनको यो भ्रमण जलवायु परिवर्तनका कारण तीव्र हुँदै गएको भनिएको हप्तौंदेखिको उच्च ग्रीष्मकालीन गर्मीपछि हुन लागेको हो ।

गत वर्ष अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले स्वशासित ताइवानको भ्रमण गरी उक्त टापुलाई आफ्नो क्षेत्र ठान्ने बेइजिङलाई आक्रोशित बनाएपछि द्विपक्षीय जलवायु वार्ता रोकिएको थियो ।

ताइवान र सुधारिएका सेमीकन्डक्टरलगायत अन्य जटिल विषयमा वासिङ्टन र बेइजिङबीच टकराव भएपनि पूर्व विदेशमन्त्री केरीको चीनसँग तुलनात्मक रूपमा सौहार्दपूर्ण र सुसंगत सम्बन्ध रहँदै आएको छ

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : २० बजे