कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न: अर्को बैठक असोज २ गते

सोचेभन्दा कम आलोचना: देउवा



काठमाडौँ । यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ । बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताए ।

सभापति देउवाले भने, “धेरै आलोचना होला भन्ने लागेका थियो, तर कम आलोचना भयो, यसका लागि धन्यवाद ।” उनले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गरे ।

सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने पनि जानकारी दिए । बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्नुहुने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो ।

पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नका लागि पार्टी सदस्य वितरणमा पारदर्शिता हुनुपर्ने धारणा राखे ।

महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनको साटो महासमिति बैठक गर्नुपर्ने माग गरे । उनले भने, “नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गरौँ ।” मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य चित्रालेखा यादवले महिला नेत्रीले पार्टीमा दिएको योगदानको चर्चा गर्दै दिवङ्गत भएका महिला नेत्रीहरूको योगदानलाई पार्टीले सम्मान गर्नुपर्नेमा जोड दिए ।

पार्टी केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, रामहरि खतिवडा र अर्जुननरसिंह केसीले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : १४ बजे