एक सय चालीस वर्षपछि वेइजिङमा भीषण वर्षा

बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर



बेइजिङ । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।

बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन्भने केयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ ।

बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न ६१ करोड ७० लाख अमेरिकी डलर विनियोजन गरेको छ ।

उक्त चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्यबाट सदस्यता शुल्कबापत सङ्कलन गरिएको हो । केन्द्रीय समितिको सङ्गठन विभागले सदस्यता रकम व्यवस्थापनका साथै कोष सञ्चालन गर्दै आएको छ ।

विभागले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापन, पीडित परिवारलाई सहयोग, सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षा, समग्र सामाजिक स्थायित्वको सुनिश्चितताका निम्ति सहायता रकम प्रदान गरेको हो । विभागले पार्टीका सबै तहका कार्यकर्तालाई नागरिक सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेको छ ।

केन्द्रीय समितिको सङ्गठन विभागले अग्रपङ्क्तिमा काममा खटिएका तथा बाढीबाट गम्भीर समस्यामा परेकालाई तत्काल सहयोग हुने गरी कोष विनियोजन गर्नुपर्नेमा जोड दिएको छ ।

गत शनिबारदेखि ती स्थानमा परेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ भने बाढीको चपेटामा परेका सर्वसाधारण राहतको प्रतीक्षामा रहेका फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ । एक सय ४० वर्षपछि देशमा यति भीषण वर्षा भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा लगातार ४० घण्टा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन्भने केयौँ घाइते भएका छन् । वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : ४७ बजे