जङ्गली च्याउ खाँदा एकको मृत्यु



जाजरकोट । जङ्गली च्याउ खाँदा यहाँ एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् ।

विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ । आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनलाई थप उचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ०० बजे