जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा २३ वर्षदेखि निर्माणाधीन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुदघाटन गरेका छन् ।
सहरी विकास मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित एक समारोहका बीच आज उनले संस्कृति केन्द्र सभाहलको समुद्घाटन गरेका हुन् ।
सभाहलको उद्घाटन पश्चात महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहल समुदघाटन तथा नागरिक अभिनन्दनका लागि आयोजित संयुक्त समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वर्गीय निधिलाई लोकतान्त्रिक आन्दोलनका योद्धा, अहिंसा र निष्ठाका पुञ्जको संज्ञा दिँदै उनको नाममा स्थापित नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए ।
कार्यक्रममा स्वर्गीय निधिपुत्र एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २३ वर्षअघि आफ्नो परिवार र तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको सपना पूरा भएकोमा खुशी व्यक्त गरे । उनले नवनिर्मित सभाहलले अहिंसा, शान्ति र मिथिलाको संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसबाट लाभ लिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान गरेका स्वर्गीय निधिको नाममा स्थापित संस्कृति केन्द्रले सभासम्मेलन गर्न सघाउ पुग्ने मात्रै नभई यस क्षेत्रको संस्कृतिको विकास र आर्थिक समुन्नतिका लागि समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सङ्घीय सरकारको सहरी विकास मन्त्रालयले संस्कृति केन्द्रको भौतिक संरचना बनाए पनि प्रदेश, स्थानीय सरकार एवं सरोकारवालाले यसको उपयोगबाट अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपालका सातै प्रदेशमा बहुआयामिक महत्त्वको सभाहल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार जनकपुरमा पनि सभाहल सञ्चालनमा आएको बताए ।
त्यसैगरी जनकपुधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साहले आफ्नो पालमा निर्माण सुरु भएको सभाहल निर्माण सम्पन्न भएर उद्घाटन भई सञ्चालनमा आएकामा खुसी व्यक्त गरे । उनले सभाहलको व्यवस्थापन र परिसरमा रहेका अन्य संरचना निर्माण संस्कृति केन्द्रको थप विकास एवं विस्तार गर्न सरकारलाई आग्रह गरे ।
सहरी विकास मन्त्रालयको रु १२ करोड २४ लाख ७९ हजार तीन सय ४० लागतमा निर्माण सम्पन्न भएको भवन सवा दुई बिघा क्षेत्रफलमा फैलिएको छ । स्वर्गीय निधि पत्नी प्रेमसागरी देवी निधिले भवनको शिलान्यास गरेसँगै विसं २०५७ वैशाखमा भवनको निर्माण कार्य सुरु भएको थियो ।
नवनिर्मित भवनमा पाँच सय ४० जना क्षमताको सभाहल, दुई सय जना अटाउने कन्फरेन्स हल छ भने परिसरभित्र पुस्तकालय भवन, सङ्ग्रहालय ब्लक, कम्पाउन्ड वाल, पार्किङ, सार्वजनिक शौचालय, चमेना गृह ब्लकलगायतका संरचना रहेका छन् ।
नेपालको राष्ट्रियताको चुरो नै मधेसमा
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको मधेसमा नेपालको राष्ट्रियताको चुरो रहेको बताएका छन् ।
आज जनकपुरमा आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र रूपान्तरणमा मधेसको सबल भूमिका रहँदै आएको भन्नुहुँदै नेपालको राष्ट्रियताको चरो पनि मधेसमै रहेको बताए ।
“नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता वीपी कोइरालाले भनेझैँ म नेपालको राष्ट्रियताको चरो नै मधेसमा रहेको छ भन्नेमा सधैँ दृढ छु”, उनले भने, “यही भूमिमा बस्ने नागरिकहरूले नेपालको एकएक इन्च जमिन जोगाएका छन् । त्यसकारण म यहाँका नागरिक र परिवर्तनका लागि प्राणको आहुति दिने सबै अग्रजको पावन स्मृतिमा उहाँहरूप्रति निष्ठाका शब्द पुष्प चढाउँछु ।”
अभाव र समस्यामा राष्ट्रियताको संरक्षण हुननसक्ने भन्दै उनले मधेसका सम्भावनाहरूको पहिचान र समस्याहरूको सम्बोधन गर्न सकारात्मक योगदानका लागि सबैलाई आग्रह गरे ।
“अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन सक्दैन । त्यही भएर हामीले समग्र देशको समृद्धिका लागि हिमाल, पहाड र तराई मधेसको सन्तुलित र समग्र विकासमा अबको ध्यान केन्द्रित गर्न ढिला गर्न हुन्न । नेपालको समथर फाँट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति, सम्मान र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने मेरो सधैँको अटल विश्वास हो । त्यसकारण म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लाग्न सबैलाई अपिल गर्दछु”, राष्ट्रपति पौडेलले भने ।
सम्बोधनका क्रममा समग्र नेपाललाई खाद्यान्न आपूर्ति गर्ने अन्नभण्डार मधेसको उर्वर भूमि सिँचाइको अभावले बाँझो देखेर आफ्नो हृदय छियाछिया हुने गरेको भन्दै उनले सरकारमा रहँदा होस् या संसद्मा, समग्र मधेसको आधा हिस्सा सिञ्चित गर्न सकिने सुनकोशी–मरिन डाइभर्सनका लागि आवाज उठाउँदै आएको स्मरणसमेत गरे ।
एक अर्को प्रसङ्गमा राष्ट्रपति पौडेलले आफ्नो नेतृत्वमा तत्कालीन मधेसवादी दलहरूसँग भएको २२ बुँदे सहमतिले संविधान निर्माणको आधारशिला खडा गरेको भन्दै संविधानको सबल कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलका नेताहरूलाई अपिल गरे।
“हामी सबै मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र स्थापना गरेका छौँ र आज हामी सबैले एकताबद्ध भई सामाजिक न्याय स्थापनासहितको समृद्धि हासिल गर्नु अपरिहार्य छ”, उनले भने, “सङ्घीयता कार्यान्वयन, जनतालाई अधिकार दिन र प्रदेश तथा स्थानीय तहका सरोकारहरू सम्बोधन गर्न मुख्य तीन नेताहरू देउवा (शेरबहादुर देउवा), ओली (केपी शर्मा ओली) र प्रचण्ड (पुष्पकमल दाहाल) ले गम्भीर बन्नुपर्छ । उहाँहरूले चाहेमा देश बदलिन्छ, संविधान र सङ्घीयता कार्यान्वयन हुन्छ ।”
त्यसैगरी उनले देशको कुनै पनि जायज नागरिक नागरिकताविहीन नरहुन् र देशको प्रत्येक नागरिकमा भेदभावरहित रूपले कानूनी राज्य र सामाजिक न्यायको परिकल्पना आफूले गरेको र त्यसैकारण नागरिकता लिनबाट बञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गरेको स्पष्ट पारे ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका प्रमुख एवं नागरिक अभिनन्दन मूल समारोहका संयोजक मनोजकुमार साहले अभिनन्दनपत्र वाचन गरेर राष्ट्रपतिलाई नगरवासीको तर्फबाट सम्मान गरे ।
त्यस्तै धनुषा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदय जुलीकुमारी महतो (महासेठ), प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जनकपुरधामका पूर्वप्रमुख बजरङ्गप्रसाद साह तथा जनकपुरधामका उपप्रमुख किशोरी साहलगायतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर साझा अभिभावकको भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
प्रतिक्रिया