दुग्ध किसानलाई एक खर्ब ३० करोड भुक्तानी



कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई एक खर्ब ३० करोड भुक्तानी गरेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्नुहुँदै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार दुग्ध विकास संस्थानलाई सुधार गर्ने पक्षमा लागेको बताउनुभयो । उहाँले असोज मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ५८ करोड रुपियाँलाई घटाएर ५६ करोड बाँकी रहेको जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले कर्मचारीलाई उत्पदान दिनुपर्ने आठ करोड ३८ लाख, कर्मचारी तलब चार करोड ६३ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाखमध्ये अब कर्मचारीलाई उत्पदान दिनुपर्ने सात करोड २४ लाख, कर्मचारी तलब एक करोड सात लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख र भ्याट भुक्तानी तनी करोड ९४ लाख बाँकी रहेको बताउनुभयो ।

उहाँले सरकारमा आएको चार महिनाको अवधिमा सरकारसँग ६० करोड र बाँकी आफैँ आम्दानी गर भुक्तानी गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले सरकारले बिहीबारको मन्त्रिपरिषदबाट उखुको समर्थन मूल्य तोक्ने बताउनुभयो । भोलिसम्म उखुको समर्थन मूल्य सार्वजनिक हुने उहाँको भनाइ छ । उहाँले बाली बीमामा लामो समय रोकिएको पैसा यस वर्ष समयमा नै भुक्तानी दिएको बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘‘उखुको सन्दर्भमा मन्त्रालयले समर्थन मूल्यको लागि मन्त्रिपरिषदमा पठाएका छौं  । भोलिसम्म उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुन्छ । उखु किसानहरु अत्यन्तै मर्कामा छन् । राज्यले किसानलाई दिनुपर्ने मूल्य असोजमा पठाइसक्यौं । यो वर्षको समर्थन मूल्य तोकेपछि त्यसको व्यवस्थापन पनि यो वर्ष नभए पनि यही समयसम्म काम अगाडि बढ्छ ।’’

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ४ : ५८ बजे