गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुरको दमकल चोकस्थित एक घर भाडामा लिई सोसल सफ्टवेयर डेभलोपमेन्ट कम्पनी दर्ता गरी गैर कानूनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप संचालन गरिरहेको पाईएको प्रहरीले जनाएको छ ।
त्यसको शाखाको रूपमा काठमाडौं महानगरपालिका-१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एप मार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार पनि गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रूपैयाँ, ल्यापटप ७ थान र मोबाइल ५४ थान समेत बरामद गरेको छ ।
पक्राउ मध्ये ६ जना चिनियाँ नागरिकहरू माथि अभौतिक मुद्रा सम्बन्धी मुद्धा दर्ता गरी अन्य ४६ जना माथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया