लोपोन्मुख हायु जातिका एकै परिवारका १६ जना बेपत्ता



सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । लोपोन्मुख हायु जातिका १६ जना ४ दिनदेहि सम्पर्कवीहिन भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो ।

उनीहरुको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो । हायु परिवारको घर एकान्तमा भएकाले ढिलो गरी मात्र सूचना पाएपछि खोजी थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उर्मिला हायुको १६ जनाको परिवार गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएको थियो ।

हायु जातिलाई राज्यले मासिक सामाजिक सुरक्षा भत्ता दिने भएकाले उक्त भत्ता लिएर कतै गएका हुन् कि भन्ने हिसाबले यसबारे पनि बुझ्ने काम भएको उनले बताए ।

हायु परिवारले पालेको कुखुरा, बाख्रा, अलपत्र अवस्थामा रहेको पाइएको छ । स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि उनीहरु सम्पर्कविहीन भएका हुन् । १५ मिनेटको दूरीमा रहेका छिमेकीहरूले पनि शुक्रबारदेखि उनीहरुलाई नदेखेको बताएका छन् ।

हायू जातिलाई सरकारले लोपोन्मुख आदिवासी समुदायमा सूचीकृत गरी सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । २०७८ को जनगणनाअनुसार हायू जातिको जनसंख्या ३ हजार ६९ रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ३ : १८ बजे