संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित हुनुभएको छ । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा सन् २०२५–२०२६ का लागि परिषद्को अध्यक्ष निर्वाचित हुनुभएको हो ।
राष्ट्रसंघको महत्वपूर्ण इकाई आर्थिक तथा सामाजिक परिषद्मा नेपाल अध्यक्ष बनेको यहो पहिलोपल्ट हो । थापा सन् २०२४–२०२५ का लागि पनि परिषद्को उपाध्यक्ष हुनुहुन्थ्यो । परिषद्को हालको उपाध्यक्षमा अल्जेरिया, आर्मेनिया, डोमिनिकन रिपब्लिक र स्पेन निर्वाचित भएका छन् ।
परिषद् राष्ट्रसंघको एक प्रमुख अंग हो, जसले आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, मानवअधिकार, वातावरण, महिला सशक्तीकरण र विकासजस्ता विषयहरूमा अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्छ ।
अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा परिषद्को नयाॅ नेतृत्वका लागि बिहीबार निर्वाचन भएको थियो । थापा निर्वाचित भएलगत्तै बैठकमा परिषद्का निवर्तमान अध्यक्ष क्यानाडाका बब रेले थापालाई अध्यक्षता हस्तान्तरण गर्नुभएको थियो । अध्यक्षमा निर्वाचित भएपछि थापाले नेपाललाई महत्वपूर्ण भूमिकाका लागि गरेको विश्वास र समर्थनका लागि सदस्य राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्नुभयो । नेपालका लागि यो ऐतिहासिक अवसर भएको भन्दै उहाॅले इकोसकको अध्यक्षता गर्नु बहुपक्षीयताप्रतिको प्रतिबद्धता र निष्पक्ष, समावेशी, न्यायपूर्ण विश्व निर्माणमा योगदान गर्ने अभिलाषाको प्रमाण भएको दाबीसमेत गर्नुभयो ।



प्रतिक्रिया