चिनियाँ राष्ट्रपति सी तिब्बतमा, एकताका लागि आह्वान



चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको अकस्मात भ्रमण गरी एकताका लागि आह्वान गरेका छन् । चीनले तिब्बतलाई आफ्नो अधिनमा लिएको ६० बर्षको अवसरमा आयोजित कार्यक्रममा उपस्थित २० हजार मानिसलाई सम्बोधन गर्दै सीले राष्ट्रिय एकताका लागि आह्वान गरेका हुन् ।

आफ्नो राष्ट्रपतीय कार्यकालमा दोश्रो तिब्बत भ्रमणमा पुगेका सीले पृथकतावादी संघर्ष दबाउन प्रयासरत रहेको भन्दै स्थानीय सरकारको प्रशंसा गरे । जुन दशकौ पुरानो बेइजिङविरुद्धको तिब्बती प्रतिरोधप्रतिको सङ्केत हो । समुद्री सतहदेखि निकै माथि रहेको ल्हासा भ्रमण गर्नु, स्वास्थ्यका दृष्टिले ७२ वर्षीय राष्ट्रपतिका लागि चुनौतीपूर्ण हो । राष्ट्रपति सीले यो चुनौती मोल्नुको पछाडी उक्त क्षेत्रमा आफ्नो अधिकार जमाउने चाहनालाई झल्किने बीबीसीले उल्लेख गरेको छ ।

सीले भन्नुभयो, ‘तिब्बतलाई शासित, स्थिर र विकसित गर्न राजनीतिक स्थिरता, सामाजिक स्थिरता, जातीय एकता र धार्मिक सौहार्द कायम गर्नु पहिलो शर्त हो ।’

उनको यो भ्रमण त्यसबेला आएको हो जब दुई महिना अघि दलाई लामाले आफ्नो उत्तराधिकारी चीनले होइन, आफ्नो कार्यालयले चयन गर्ने घोषणा गरेका थिए । तर, चिनियाँ नेताहरू भने त्यस अधिकार आफूहरूसँग मात्र रहेको दाबी गर्छन् ।

चिनियाँ राष्ट्रपति सीको यो आकस्मिक भ्रमण बिहीबार सबै राज्य सञ्चालित समाचारपत्र र टिभी बुलेटिनको मुख्य समाचार बन्यो । समाचारहरूले ल्हासामा उनको भ्रमणलाई उत्सवको रूपमा चित्रित गरे । प्रकाशित तस्बिरहरूमा उनलाई तिब्बती नर्तक र उत्साहित भिडले स्वागत गरिरहेको देखाइयो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  १ : २८ बजे