ट्रम्प–सी शिखर वार्ताले आगामी महाशक्ति सम्बन्धको दिशा तय गर्ने



बेइजिङको ऐतिहासिक तियानआनमेन स्क्वायर वरपरको सुरक्षा केही दिनदेखि कडा बनाइएको छ । सामाजिक सञ्जालमा विशेष परेड वा ठूलो योजनाबद्ध कार्यक्रम हुन लागेको चर्चा चलिरहेको छ ।

यो ठूलो कार्यक्रमको तयारी चुपचाप सुरु भए पनि चीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि भव्य प्रदर्शन गर्न तयार देखिन्छ ।

भ्रमणका क्रममा वार्ता, राजकीय भोज र “टेम्पल अफ हेभेन” भ्रमण समावेश हुनेछ । यो सम्राटहरूले राम्रो बालीका लागि प्रार्थना गर्ने शाही मन्दिरहरूको परिसर हो ।

र ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ दुवैले यो भ्रमण फलदायी होस् भन्ने चाहिरहेका छन् । विश्वका दुई शक्तिशाली नेताबीचको यो भेटवार्ता आगामी धेरै वर्षका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ ।

यो सन् २०१७ पछि अमेरिकी राष्ट्रपतिको पहिलो चीन भ्रमण हो ।

धेरै महिनासम्म अमेरिका–चीन सम्बन्ध ट्रम्पको प्राथमिकतामा थिएन । उनको ध्यान इरानसँगको युद्ध, पश्चिमी गोलार्धमा सैन्य गतिविधि तथा घरेलु मुद्दाहरूमा केन्द्रित थियो । तर यो साता परिस्थिति बदलिँदैछ । विश्व व्यापारको भविष्य, ताइवानमा बढ्दो तनाव र अत्याधुनिक प्रविधिमा प्रतिस्पर्धा अहिले दाउमा छन् ।

आर्थिक रूपमा हेर्दा अमेरिका–चीन व्यापार युद्ध र इरानसँगको द्वन्द्व सि जिनपिङका लागि खराब समाचार हुन सक्छ । तर वैचारिक र राजनीतिक रूपमा यसले उनलाई फाइदा पुर्‍याएको छ र उनी आफूलाई बलियो स्थितिमा देखिरहेका छन् ।

यो भ्रमणले भविष्यमा सहकार्यको आधार तयार गर्न सक्छ — वा आगामी वर्षहरूमा द्वन्द्वको मार्ग पनि खोल्न सक्छ ।

इरान युद्धमा चीनको भूमिका

युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा चीन चुपचाप मध्यस्थकर्ताको भूमिकामा देखिन थालेको छ । बेइजिङले पाकिस्तानसँग मिलेर अमेरिका–इजरायल र इरानबीचको तनाव समाधान गर्न पहल गरेको छ ।

मार्चमा चीन र पाकिस्तानका अधिकारीहरूले युद्धविराम र होर्मुज जलडमरूमध्य पुनः सञ्चालनका लागि पाँच बुँदे योजना अघि सारेका थिए । यसका साथै चिनियाँ अधिकारीहरूले इरानी समकक्षीहरूलाई वार्ताको टेबलमा फर्कन दबाब दिइरहेका छन् ।

चीनले सार्वजनिक रूपमा शक्ति प्रदर्शन गरे पनि यो युद्ध अन्त्य होस् भन्ने चाहना राखेको स्पष्ट देखिन्छ ।

चीनको अर्थतन्त्र पहिले नै सुस्त वृद्धि र बढ्दो बेरोजगारीसँग संघर्ष गरिरहेको छ । तेलको मूल्य बढ्दा पेट्रोकेमिकलमा आधारित सामग्री- कपडा, प्लास्टिकलगायत-उत्पादन महँगिएको छ । कतिपय चिनियाँ उद्योगहरूको लागत २० प्रतिशतसम्म बढेको छ ।

चीनसँग पर्याप्त तेल भण्डार छ । साथै नवीकरणीय ऊर्जा र विद्युतीय सवारी क्षेत्रमा उसले बनाएको अग्रता कारण ऊ इन्धन संकटबाट केही हदसम्म सुरक्षित छ । तर युद्धले निर्यातमा निर्भर चिनियाँ अर्थतन्त्रलाई थप दबाब दिएको छ ।

यदि चीनले अमेरिकालाई सहयोग गर्ने हो भने, त्यसको बदलामा उसले केही चाहने निश्चित छ ।

गत साता इरानी विदेशमन्त्री  अब्बास अरग्चीको बेइजिङ भ्रमणले मध्यपूर्वमा चीनको प्रभाव देखाउने प्रयास गरेको संकेत दिएको थियो ।

अमेरिकाले पनि यसलाई नजिकबाट नियालेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबीवले भनेका छन्, “म आशा गर्छु चीनले इरानलाई आवश्यक सन्देश दिनेछ- होर्मुज क्षेत्रमा उसले गरिरहेको गतिविधिले उसलाई विश्वव्यापी रूपमा एक्ल्याइरहेको छ ।”

ताइवानको भविष्य

ताइवानका विषयमा ट्रम्प प्रशासनले मिश्रित संकेत दिएको छ ।

गत डिसेम्बरमा अमेरिकाले ताइवानसँग ११ अर्ब डलरको हतियार सम्झौता गरेको थियो, जसले चीनलाई आक्रोशित बनायो । तर ट्रम्पले ताइवानको रक्षा गर्ने अमेरिकी प्रतिबद्धतालाई कम महत्व दिएका छन् ।

सि जिनपिङबारे भनेका थिए, “उहाँ ताइवानलाई चीनको भाग ठान्नुहुन्छ, र त्यो उहाँकै निर्णय हो ।”

ट्रम्पले ताइवानले अमेरिकी सुरक्षा सहयोगको पर्याप्त प्रतिफल नदिएको पनि बताएका छन् । साथै ताइवानले अमेरिकाबाट सेमिकन्डक्टर उद्योग “चोरेको” आरोपसमेत लगाएका छन् ।

गत साता मार्क मार्को रुबिओले ताइवान यो भ्रमणको प्रमुख एजेन्डामध्ये एक हुने बताएका थिए । तर मुख्य उद्देश्य नयाँ तनाव सिर्जना हुन नदिनु रहेको उनले स्पष्ट पारे ।

उता चीनले पनि ताइवानलाई वार्ताको प्राथमिक विषय बनाएको संकेत दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले “सही निर्णय” लिनुपर्ने बताएका छन् ।

बेइजिङले ताइवान वरपर दैनिकजसो युद्धपोत र लडाकु विमान पठाएर सैन्य दबाब बढाइरहेको छ ।

व्यापार वार्ता

सन् २०२५ को अधिकांश समय अमेरिका र चीन नयाँ व्यापार युद्धको नजिक पुगेका थिए । ट्रम्पले चीनमाथि कहिले बढाउने, कहिले घटाउने गरी शुल्क लगाएका थिए, जुन कतिपय अवस्थामा १०० प्रतिशतभन्दा माथि पुगेको थियो ।

जवाफमा चीनले दुर्लभ खनिजको निर्यात घटायो र अमेरिकी कृषि उत्पादन खरिद कम गर्‍यो, जसको असर ट्रम्प समर्थक किसानहरूमा पर्‍यो ।

गत अक्टोबर दक्षिण कोरियामा ट्रम्प र सि जिनपिङ बीचको भेटपछि तनाव केही कम भएको थियो । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपतिको एकल निर्णयबाट शुल्क लगाउने अधिकार सीमित गरेपछि पनि अवस्था केही शान्त बनेको थियो ।

तर बेइजिङ भ्रमणका क्रममा व्यापार अझै मुख्य विषय रहनेछ । ट्रम्पले चीनलाई अमेरिकी कृषि उत्पादन बढी खरिद गर्न दबाब दिने अपेक्षा छ । उता चीनले अमेरिकाले हालै सुरु गरेको “अनुचित व्यापार अभ्यास” सम्बन्धी अनुसन्धान रोक्न आग्रह गर्नेछ ।

यस भ्रमणमा ट्रम्पसँग एनभिडिया एप्पल  एक्सन मेबिल र बोइङ लगायतका कम्पनीका प्रमुखहरू पनि सहभागी हुने बताइएको छ ।

एआई र प्रविधिको प्रतिस्पर्धा

चीन भविष्यको प्रविधिमा प्रभुत्व जमाउने दौडमा छ । उसले कृत्रिम बौद्धिकता र मानवजस्तै रोबोटमा ठूलो लगानी गरिरहेको छ ।

तर धेरै अमेरिकी नीति निर्माता चीनले अमेरिकी प्रविधि नक्कल गर्ने वा चोरी गर्ने नीति अपनाएको आरोप लगाउँछन् । यसै कारण अत्याधुनिक माइक्रोप्रोसेसर निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

एआइ क्षेत्रमा पनि अमेरिका र चीनबीच प्रतिस्पर्धा चर्किएको छ । अमेरिकाले चिनियाँ कम्पनी डिपसिकमाथि अमेरिकी एआइ मोडेल चोरी गरेको आरोप लगाएको छ ।

विश्लेषकहरूका अनुसार अहिले “एआइ शीतयुद्ध” को सुरुवात भइरहेको छ ।

चीनका रोबोटहरूले कुंग–फु नाच प्रदर्शन गर्ने र मानिसभन्दा छिटो दौडने क्षमतासमेत देखाइसकेका छन् । तर ती रोबोटलाई चलाउने अत्याधुनिक चिप भने अझै अमेरिकाबाट आवश्यक पर्छ ।

यहीँ चीनले आफ्नो दुर्लभ खनिज उत्पादनमाथिको नियन्त्रणलाई वार्ताको हतियार बनाउन सक्छ । विश्वका करिब ९० प्रतिशत दुर्लभ खनिज प्रशोधन चीनमै हुन्छ, जुन स्मार्टफोनदेखि जेट इन्जिनसम्मका आधुनिक प्रविधिका लागि आवश्यक पर्छ ।

त्यसैले सम्भावित सम्झौता यस्तो हुन सक्छ — अमेरिकाले चीनबाट दुर्लभ खनिज पाउने, र बदलामा चीनले अत्याधुनिक चिपहरूमा पहुँच पाउने ।

ट्रम्पको भ्रमण छोटो हुनेछ । बिहीबार र शुक्रबार मात्रै बैठक तथा कार्यक्रम तय गरिएका छन् ।

दुई नेताबीच ठूला सहमति तुरुन्तै नहुन सक्छन्, तर यो छोटो भेटले आगामी वर्षहरूका लागि अमेरिका–चीन सम्बन्ध र वार्ताको दिशा निर्धारण गर्न सक्नेछ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १२ : ०१ बजे