प्रतिनिधिसभामा विपक्षी दलहरूको लगातार अवरोध र नाराबाजीबीच विभिन्न विधेयकहरू पारित भएका छन् भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अनुपस्थितिलाई लिएर राजनीतिक तनाव बढेको छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई प्रश्नोत्तर गराउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्। सोही विषयलाई लिएर सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री शाहसँग भेट गर्न सिंहदरबार पुगेका थिए।
सभामुखका अनुसार प्रधानमन्त्री शाहले “उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिने” बताएका छन्। तर उनले आगामी हप्ताको निर्धारित प्रश्नोत्तरका लागि भने समय दिन नसकेको जानकारी पनि सभामुखमार्फत कार्यव्यवस्था परामर्श समितिमा पुगेको छ।
प्रधानमन्त्रीको अनुपस्थितिकै बीच प्रतिनिधिसभा बैठक निरन्तर सञ्चालन भएको थियो। कानुनमन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट विभिन्न विधेयकहरू प्रस्तुत गरिन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि विधेयकमाथि दफावार छलफल तथा संशोधन प्रस्ताव प्रस्तुत गरे ।
अवरोध र नाराबाजीबीच नै ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ। साथै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
यसैबीच विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थिति अस्वीकार्य भएको भन्दै लगातार वेल घेराउ र नाराबाजी जारी राखेका छन्। उनीहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई अनिवार्य रूपमा उपस्थित गराई प्रश्नहरूको जवाफ लिनुपर्ने माग दोहोर्याइरहेका छन्।
विवाद र अवरोधकै बीच प्रतिनिधिसभाको अर्को बैठक वैशाख १२ गतेका लागि बोलाइएको छ।





प्रतिक्रिया