‘महिला लक्षित’ मै सीमित लैङ्गिक बजेट : नीति छ, प्रभावकारी कार्यान्वयन अझै कमजोर



लैङ्गिक समानता तथा महिला अधिकार प्रवद्र्धनका लागि ‘लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी’ अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । मंगलबार एक्सनएड अन्तर्राष्ट्रिय नेपालले साझेदार संस्था चितवन सक्रिय महिला प्रतिष्ठान र मकवानपुर महिला उत्थान समाजसँगको सहकार्यमा ‘नेपालमा लैङ्गिक समानता तथा महिला अधिकार प्रवद्र्धनका लागि लैङ्गिक उत्तरदायी बजेट विनियोजन र खर्चको विश्लेषण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

हिमाल इन्नोभेटिभ डेभलपमेन्ट एण्ड रिसर्च प्रा.लि.ले सन् २०२३ देखि २०२५ सम्मका तीन आर्थिक वर्षको बजेट विनियोजन, खर्चको प्रवृत्ति तथा लैङ्गिक उत्तरदायी बजेट अभ्यासको अवस्थाको विश्लेषण गरेको छ ।

अध्ययनमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अध्ययन क्षेत्रका रूपमा समेटिएको छ । साथै, स्थानीय तहमा माडी नगरपालिका, मनहरी गाउँपालिका र शङ्खरापुर नगरपालिकालाई समेटेको छ ।
त्यसैगरी अध्ययनले महिलामैत्री तथा महिला लक्षित बजेट विनियोजन, खर्चको प्रभावकारिता, महिला तथा सीमान्तकृत समुदायसम्मको पहुँच, र नीति कार्यान्वयनका चुनौतीहरूको विश्लेषण गरेको छ । यस्तै, तीनै स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट अभ्यासको वर्तमान अवस्थासमेत अध्ययन गरिएको छ ।

यस अध्ययनले बजेट कार्यान्वयनका सन्दर्भमा नीतिगत, संस्थागत तथा व्यवहारिक तहमा विद्यमान चुनौती र सम्भावनाहरूलाई उजागर गरेको छ । अध्ययनअनुसार, लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी विद्यमान निर्देशिकाहरू संघीय संरचनाअनुसार परिमार्जन नभएको पाइएको छ । साथै, जीआरबी कोडिङलाई एलएमबीआइएस तथा सुत्र प्रणालीलाई अनिवार्य नगरिएको कारण अधिकांश पालिकाहरूमा प्रभावकारी अभ्यास हुन सकेको देखिन्छ ।

अर्को स्थानीय तहहरूमा लैङ्गिक उत्तरदायी बजेटलाई समग्र बजेट प्रणालीको अभिन्न अङ्गका रूपमा नभई सीमित रूपमा ‘महिला लक्षित बजेट’ का रूपमा बुझ्ने प्रवृत्ति रहेको देखाएको छ । स्थानीय तहको सात चरणीय योजनासँग समन्वय हुन नसकेको, महिला र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता अझै सीमित रहेको निष्कर्ष निकालेको छ ।

यद्यपि, कुल बजेटमा लैङ्गिक उत्तरदायी बजेट सुनिश्चित गर्ने स्पष्ट अभ्यास पर्याप्त नभए पनि स्थानीय तहमा महिलालाई लक्षित गरी बजेट विनियोजन गर्ने तथा त्यसलाई व्यवहारिक कार्यक्रम र पहलमार्फत कार्यान्वयनमा लैजाने प्रयास क्रमशः बढ्दै गएको अध्ययनले संकेत गरेको छ ।

अध्ययनले नेपालको समावेशी विकास, सामाजिक न्याय, लैङ्गिक समानता तथा दिगो विकास लक्ष्य हासिल गर्न लैङ्गिक उत्तरदायी बजेट प्रणालीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको निष्कर्ष प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ६ : ०६ बजे