म्यानमारमा विस्फाेट हुँदा ४६ जनाकाे मृत्यु



म्यानमारको विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा भएको भीषण विस्फोटमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। उद्धारकर्मीहरूले बीबीसीलाई दिएको जानकारीअनुसार मृतकमध्ये एक वर्षे शिशुसहित ६ जना बालबालिका पनि रहेका छन्।

चीनको सीमासँग जोडिएको शान राज्यको नामखाम टाउनसिपस्थित काउङ टाट गाउँमा आइतबार स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे विस्फोट भएको थियो। विस्फोटका कारण काउङ टाटका करिब २०० घर र नजिकैको पान लोन गाउँका थप १०० घरमा क्षति पुगेको बताइएको छ।

क्षेत्र नियन्त्रणमा रहेको टाङ नेश्नल लिबरेशन आर्मीले खानी तथा ढुंगा उत्खननमा प्रयोग हुने विस्फोटक पदार्थ अचानक पड्किँदा दुर्घटना भएको जनाएको छ। यसअघि घटनास्थलको अवस्थाबारे जानकार एक स्रोतले मृतक संख्या कम्तीमा ५५ पुगेको हुन सक्ने बताएका थिए।

घटनास्थलबाट सार्वजनिक भिडियोमा ठूलो खाल्डो, भग्नावशेषले भरिएको क्षेत्र, ध्वस्त भवनहरू, जलेका रुखहरू तथा अझै धुवाँ निस्किरहेको दृश्य देखिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार विस्फोटपछि गाउँमा त्रास, अन्योल र शोकको वातावरण फैलिएको थियो। धेरैले सुरुमा यो सैन्य हवाई आक्रमण भएको ठानेका थिए। एक स्थानीयले सामाजिक सञ्जालमा लेख्दै आफू मोबाइल हेर्दै कोठामा चाउचाउ खाइरहेको बेला विस्फोट भएको र यदि भान्सामा बसेको भए सम्भवतः बाँच्न नसक्ने बताए।

उनले आफ्नो घर पूर्ण रूपमा ध्वस्त भएको र आफू सामान्य घाइते भएको उल्लेख गर्दै विस्फोटपछि मानिसहरू आफ्ना अभिभावक र आफन्तको नाम लिएर रोइरहेको, सहायता मागिरहेको तथा “संसार नै अन्त्य भएको जस्तो महसुस भएको” बताएका छन्।

स्थानीयहरूले यति ठूलो मात्रामा विस्फोटक पदार्थ आवासीय क्षेत्रको नजिक किन राखिएको थियो भन्ने विषयमा स्पष्ट छानबिन र जवाफदेहिताको माग गरेका छन्।

टीएनएलए म्यानमारको सैनिक शासनविरुद्ध लडिरहेका सबैभन्दा शक्तिशाली जातीय सशस्त्र समूहहरूमध्ये एक हो। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार म्यानमारका धेरै विद्रोही समूहहरूले आफ्नो गतिविधि सञ्चालन गर्न खनिज उत्खननबाट आम्दानी गर्ने गरेका छन्, जहाँ कमजोर सुरक्षा मापदण्डका कारण यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १२ : १७ बजे