प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री बालेन शाहले सीमा विवादका विषयमा संसदमा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी लगायत विभिन्न राजनीतिक दलहरूले तीव्र आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले आइतबार संसदको रोस्टममा उभिएर ‘नेपालले पनि भारतको जग्गा मिचेको’ आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले उक्त अभिव्यक्ति चरम अपरिपक्व, राष्ट्रहित विपरीत र ‘गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन’ बाट ग्रसित भएको आरोप लगाएका छन्।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको आत्मघाती अभिव्यक्तिले करिब तीन करोड नेपालीको शिर निहुरिएको बताए। नेपालले कहाँ भारतको जग्गा मिच्यो भन्ने कुराको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्दै उनले यसले सीमा विवादमा नेपालको बलियो ऐतिहासिक दाबीलाई अन्तर्राष्ट्रिय जगतमा कमजोर बनाउने र नेपाललाई नै अतिक्रमणकारीका रूपमा स्थापित गर्ने खतरा औंल्याए। परराष्ट्र मन्त्रालयले ‘क्रस बोर्डर अकुपेसन’ भन्दै प्रधानमन्त्रीको बचाउ गर्न खोजेकोमा आपत्ति जनाउँदै कार्यकारी प्रमुखको यो ‘धावा’ सच्चिएर माफी नमागेसम्म संसदमा सहकार्य अघि बढ्न नसक्ने उनले चेतावनी दिए।
त्यस्तै, नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको उक्त आपत्तिजनक अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्ने माग गरे। लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको कुरा स्मरण गराउँदै महरले प्रधानमन्त्रीलाई तथ्य र तथ्याङ्क अध्ययन गर्न वा आफूहरूसँग सिक्न आउन समेत आग्रह गरे। यसका साथै, प्रधानमन्त्री सेनाको कार्यक्रममा राष्ट्रिय पोशाक (दौरा सुरुवाल) मा जाने तर सार्वभौम संसदमा भने फुटबल खेल्ने बुझिने पोसाकमा आएर सदनको गरिमालाई अवमूल्यन गरेको भन्दै उनले प्रधानमन्त्रीको शैलीमाथि प्रश्न उठाए।
प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीमा कूटनीतिक परिपक्वता र दृढ इच्छाशक्तिको अभाव देखिएको टिप्पणी गरे। सीमा क्षेत्रका नागरिकले खेतीपाती गरेको विषय र नेपाली भूमिमा भारतीय सैनिकले परेड खेलेर कब्जा गरेको संवेदनशील विषयलाई प्रधानमन्त्रीले तुलना गर्नु लज्जास्पद भएको उनको भनाइ थियो। उनले सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु भारतलाई खुसी पार्ने रणनीति वा उपहार त होइन भन्दै गम्भीर संशय पैदा भएको बताए।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति कडा आक्रोश र लज्जाबोध व्यक्त गरेका छन्। उनले प्रधानमन्त्रीको भनाइ केवल रेकर्डबाट हटाएर मात्रै नपुग्ने भन्दै यसले भविष्यका लागि एउटा घातक इतिहास र नजिर स्थापित गरेको टिप्पणी गरे। राईले गम्भीर प्रश्न उठाउँदै भने, “भोलि भारतीय पक्षले तिम्रो देशको प्रधानमन्त्री आफैंले हाम्रो जमिन मिचेको स्वीकार गरेका थिए, त्यसैले हाम्रो भूमि फिर्ता देऊ भन्यो भने नेपालले कुन भूमि फिर्ता दिने?” देशको कार्यकारी प्रमुखले रोस्टममै उभिएर राष्ट्रहित विपरीत यस्तो आत्मघाती अभिव्यक्ति दिनु अक्षम्य भएको उनको भनाइ थियो।उनले प्रधानमन्त्री शाहले तुरुन्त संसदमा उपस्थित भएर देशवासीसामु माफी माग्नुपर्ने र आफ्ना शब्दहरू फिर्ता लिनुपर्ने माग गरे।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले चिया पसलमा नभई देशको कार्यकारी प्रमुखले संसदको रोस्टमबाट बोलेको हुनाले प्रधानमन्त्रीले कि त यसको तथ्य र प्रमाण पेस गर्नुपर्ने, नत्र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने माग गरे। यता श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्रीको भनाइलाई नजिर मानेर भोलि भारतले भूमि फिर्ता मागे कुन भूमि दिने भनी प्रश्न गरे। उनले प्रधानमन्त्री नआएसम्म र सभामुख डिपी अर्यालले रुलिङ गरी उनलाई माफी माग्न नलगाएसम्म संसद अवरोध गर्ने चेतावनी समेत दिएका छन्।





प्रतिक्रिया