इरानविरुद्ध थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित



अमेरिकी तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्न रोक लगाउने उद्देश्यको प्रस्ताव पारित गरेको छ ।

बुधबार भएको मतदानमा प्रस्ताव २१५–२०८ मतले पारित भएको हो । मतदानका क्रममा चार जना रिपब्लिकन सांसदले डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरेका थिए । यो फेब्रुअरीमा सुरु भएको युद्धप्रति आफ्नै दलभित्रको असन्तुष्टिको सार्वजनिक संकेतका रूपमा हेरिएको छ ।

ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्न तल्लो सदनमा गरिएको यो चौथो प्रयास हो । आलोचकहरूले इरानविरुद्धको सैन्य अभियान कांग्रेसको औपचारिक स्वीकृतिविना सञ्चालन गरिएको भन्दै विरोध गर्दै आएका छन् ।

यद्यपि, प्रस्ताव कार्यान्वयनका लागि अब रिपब्लिकनहरूको बहुमत रहेको अमेरिकी सिनेटबाट पनि अनुमोदन हुनुपर्नेछ । सिनेटबाट पारित भए पनि यसले इरानविरुद्धको सैन्य कारबाही पूर्ण रूपमा रोक्ने सम्भावना कम रहेको विश्लेषण गरिएको छ ।

यसअघि मे महिनामा सिनेटले पनि यस्तै प्रस्तावलाई अघि बढाएको थियो । सात पटक असफल भएपछि उक्त प्रस्तावले प्रक्रियागत स्वीकृति पाए पनि पूर्ण मतदानमा भने पुग्न सकेको छैन ।

बुधबारको मतदानलाई ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीभित्र बढ्दो मतभेदको अर्को संकेतका रूपमा हेरिएको छ । केही दिनअघि मात्रै पार्टीभित्रकै रूढीवादी सांसदहरूको विरोधपछि ट्रम्प प्रशासनले आफ्ना राजनीतिक सहयोगीहरूका लागि प्रस्तावित १.८ अर्ब डलरको ‘एन्टी–वेपनाइजेसन’ कोषसम्बन्धी योजना फिर्ता लिनुपरेको थियो ।

प्रस्तावको पक्षमा रिपब्लिकन सांसदहरू थोमस म्यासी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसनले मतदान गरे । डेमोक्र्याट सांसद जारेड गोल्डेनले पनि यसअघि यस्ता प्रस्तावको विपक्षमा मतदान गर्दै आए पनि यसपटक समर्थन जनाए ।

मिशिगनका रिपब्लिकन सांसद टम ब्यारेटले “युद्ध घोषणा गर्ने अधिकार कांग्रेससँग मात्र छ, त्यसैले यो अधिकारको संरक्षण आवश्यक छ,” भने । ट्रम्पबाट राजनीतिक प्रतिशोधको डर लागेको छ कि भन्ने प्रश्नमा उनले “म आफ्नो विवेकले सही ठानेको पक्षमा मतदान गर्छु र त्यसको परिणाम स्वीकार गर्न तयार छु,” प्रतिक्रिया दिए ।

तल्लो सदनको विदेश मामिला समितिका वरिष्ठ डेमोक्र्याट सदस्य ग्रेगरी मिक्सले मतदानलाई “राष्ट्रपति ट्रम्पको अवैध र महँगो इरान युद्धविरुद्धको महत्वपूर्ण द्विदलीय सन्देश” को संज्ञा दिए ।

उनले ट्रम्प प्रशासन युद्धका घोषित उद्देश्य हासिल गर्न असफल भएको, इन्धनको मूल्य बढाएको तथा इरानको आणविक कार्यक्रमसम्बन्धी कूटनीतिक समाधानलाई थप जटिल बनाएको आरोप लगाए ।

“आजको निर्णयले महत्वपूर्ण मोडको संकेत गरेको छ । मध्यपूर्वमा अर्को अन्त्यहीन युद्ध नचाहने आफ्ना मतदाताको आवाज धेरै रिपब्लिकन सांसदहरूले सुन्न थालेका छन्,” मिक्सले बताए ।

अमेरिका र इजरायलले गत २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल तथा अमेरिकाका खाडी क्षेत्रका सहयोगी मुलुकहरूलाई निशाना बनाएको थियो । साथै, विश्व व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुज स्ट्रेटलाई प्रभावकारी रूपमा बन्द गरेको थियो ।

अप्रिलमा अमेरिकाले इरानका तटीय क्षेत्रतर्फ जाने वा त्यहाँबाट आउने जहाजमाथि नाकाबन्दी लगाउने घोषणा गरेको थियो ।

दुवै पक्षबीच ८ अप्रिलमा प्रारम्भिक युद्धविराम सम्झौता भएको थियो । तर त्यसपछि पनि अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ भने इरानले अमेरिकाको सहयोगी राष्ट्र कुवेतमाथि आक्रमण गरेको छ ।

मतदानअघि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि भइरहेको वार्ता “धेरै राम्रोसँग अघि बढिरहेको” र सम्भवतः यसै साताको अन्त्यसम्म सम्झौता हुन सक्ने बताएका थिए ।

“हामीले अघिल्लो रात र हिजो राति पनि उनीहरूलाई कडा प्रहार गर्‍यौँ,” ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, “कतिपयले हाम्रो कारबाहीलाई उक्साहटको प्रतिक्रिया भन्न सक्छन्, त्यसैले उनीहरूले जवाफी कदम चालेका हुन् ।”

ट्रम्पले आफ्नो प्रशासनका अधिकांश सदस्यहरू धेरै मानिसको ज्यान नगई सम्झौतामार्फत युद्ध अन्त्य गर्न चाहेको पनि बताए ।

“सैद्धान्तिक रूपमा हामी सम्झौतामा पुग्न निकै नजिक छौँ। वास्तवमा हामीबीचको संवाद निकै राम्रो रहँदै आएको छ,” उनले भने ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ११ : ५२ बजे