विश्वकपमा इंग्ल्यान्डको कठिन यात्रा : अन्तिम १६ मा मेक्सिकोसँग भिड्ने



इंग्ल्यान्डले कठिन चुनौती पार गर्दै डिआर कङ्गाेलाई २–१ ले पराजित गरी विश्वकप फुटवलकाे अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

एक गोलले पछि परेको अवस्थामा कप्तान ह्यारी केनले खेलको अन्तिम १५ मिनेटभित्र दुई गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए । प्रशिक्षक थाेमस टुचेल नेतृत्वमा रहेको इंग्ल्यान्ड अब दशकको तेस्रो प्रमुख प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यतर्फ एक कदम नजिक पुगेको छ ।

इंग्ल्यान्डले अब जुलाई ६ (सोमबार) मा प्रतियोगिताको सह–आयोजक मेक्सिकाेसँग उसको घरेलु मैदान एज्टेकामा प्रतिस्पर्धा गर्नेछ।

मेक्सिकोको घरेलु मैदान एज्टेकामा उत्कृष्ट कीर्तिमान छ । टोलीले त्यहाँ खेलेका ८९ प्रतिस्पर्धात्मक खेलमध्ये ७० मा जित निकालेको छ भने केवल दुई खेलमा मात्र पराजित भएको छ । विश्वकपमा पनि मेक्सिको एज्टेकामा लगातार १० खेलदेखि अपराजित छ ।

यस विश्वकपमा मेक्सिकोले चारै खेल जित्दै आठ गोल गरेको छ भने एक गोल पनि खाएको छैन। विश्व वरीयताको नवौं स्थानमा रहेको मेक्सिको नोभेम्बर २०२४ यता प्रतिस्पर्धात्मक फुटबलमा अपराजित छ ।

एज्टेका समुद्री सतहबाट करिब ७,००० फिट उचाइमा रहेकाले त्यहाँको पातलो हावाले खेलाडीहरूमा श्वास फेर्न कठिनाइ, मुटुको धड्कन बढ्ने र छिटो थकान लाग्ने चुनौती पनि थप्नेछ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ११ : ३० बजे