स्पेन १६ वर्षपछि विश्वकपको नकआउट चरणमा विजयी



युरोपियन च्याम्पियन स्पेनले १६ वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित निकाल्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरेको छ । अमेरिकाको लस एन्जलसमा भएको खेलमा स्पेनले अस्ट्रियालाई ३–० ले पराजित गर्दै सहज रूपमा अर्को चरणमा प्रवेश गरेको हो ।

खेलको सुरुआती आधा घण्टासम्म अस्ट्रियाले कडा रक्षात्मक खेल प्रदर्शन गरे पनि स्पेनको निरन्तर दबाब अन्ततः ३६औँ मिनेटमा सफल भयो । मार्क कुकुरेलाको लो क्रसमा मिकेल ओयारजाबालले १२ यार्डबाट सहज फिनिस गर्दै स्पेनलाई अग्रता दिलाए ।

दोस्रो हाफको ६६औँ मिनेटमा स्पेनले आफ्नो अग्रता दोब्बर बनायो । धैर्यपूर्वक तयार गरिएको आक्रमणमा एलेक्स बाएनाको उत्कृष्ट क्रसलाई राइट–ब्याक पेद्रो पोरोले हेडमार्फत गोलमा परिणत गरे ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कुकुरेला र ओयारजाबालबीचको उत्कृष्ट तालमेलले स्पेनको तेस्रो गोल सम्भव बन्यो । कुकुरेलाको सटीक थ्रु–बलमा ओयारजाबालले सहज फिनिस गर्दै प्रतियोगितामा आफ्नो चौथो गोल पूरा गरे ।

यसअघि पहिलो हाफमै कुकुरेलाले गरेको गोल पाउ कुबार्सीले गोलकिपर अलेक्जेन्डर स्लागरमाथि फाउल गरेको भन्दै रद्द गरिएको थियो । त्यसबाहेक स्लागरले ओयारजाबालको प्रहार बचाउनुका साथै बाएनाको फ्रिकिकलाई क्रसबारतर्फ धकेल्दै र लामिन यामालको रिबाउन्ड प्रहार छातीले रोक्दै अस्ट्रियालाई लामो समयसम्म खेलमा टिकाइराखेका थिए ।

दोस्रो हाफमा पनि स्पेनले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो । अस्ट्रियाले केही अवसर सिर्जना गरे पनि प्रभावकारी आक्रमण गर्न सकेन। वैकल्पिक खेलाडी सासा कालाज्ड्जिचको हेडर बाहेक टोलीले स्पेनको रक्षापंक्तिलाई खासै चुनौती दिन सकेन ।

यो जितसँगै स्पेनले लगातार चौथो खेलसम्म कुनै गोल नखाई प्रतियोगितामा आफ्नो प्रभावशाली यात्रा कायम राखेको छ । साथै, २०१० मा विश्वकप जितेपछि पहिलो पटक स्पेनले विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो । २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ मा रुस तथा २०२२ मा मोरक्कोसँग अन्तिम–१६ मै पराजित भएको थियो ।

अब स्पेनले विश्वकपको अन्तिम–१६ मा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको स्पेन उपाधिको प्रमुख दाबेदारका रूपमा थप बलियो बन्दै गएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : ४६ बजे