चीनमा शक्तिशाली आँधी ‘डोल्फिन’को प्रभाव, १० लाखभन्दा बढी मानिस विस्थापित



चीनको पूर्वी क्षेत्रमा शक्तिशाली आँधी ‘डोल्फिन’ प्रवेश गरेपछि सांघाईसहित विभिन्न क्षेत्रमा १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधीका कारण भारी वर्षा हुनुका साथै यातायात सेवा प्रभावित भएको छ । सोमबार सांघाईबाट मात्रै करिब १ हजार उडान रद्द गरिएको छ ।

Image

चिनियाँ अधिकारीहरूले ‘डोल्फिन’लाई शक्तिशाली आँधीबाट घटाएर उष्णकटिबन्धीय आँधीका रूपमा वर्गीकरण गरे पनि उत्तरतर्फ अघि बढिरहेको आँधीका कारण बुधबारसम्म भारी वर्षा, बाढी र पहिरोको जोखिम कायमै रहने चेतावनी दिएका छन् ।

यसअघि चिनियाँ अधिकारीहरूले ‘डोल्फिन’का लागि उच्चतम तहको रेड अलर्ट जारी गरेका थिए । यो आँधी यस वर्ष चीनमा आएको अहिलेसम्मकै शक्तिशाली आँधी मानिएको छ ।

Image

मौसम विभागका अनुसार आइतबार साँझ ५ः३० बजे (स्थानीय समय) झेजियाङ प्रान्तको युहुआनमा पहिलोपटक जमिनमा प्रवेश गर्दा आँधीको अधिकतम हावाको गति १५० किलोमिटर प्रतिघण्टा थियो । त्यसको करिब एक घण्टापछि आँधीले वेनझाउ शहरमा दोस्रोपटक जमिनमा प्रवेश गरेको थियो ।

सोमबार शानडोङ, हेनान, हुबेई, आन्हुई, जियाङ्सु, झेजियाङ प्रान्त तथा सांघाईमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

Image

आँधीका कारण सरकारले सर्वसाधारणलाई बाहिरी गतिविधि नगर्न आग्रह गरेको छ । सांघाईका डिज्नील्यान्ड र लेगोल्यान्डका केही भागसहित प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएको छ। बन्ड क्षेत्रमा रहेका केही अवलोकनस्थल पनि बन्द गरिएका छन् ।

राज्य सञ्चारमाध्यमले सांघाईको पर्यटकका लागि लोकप्रिय पूर्व फ्रेन्च कन्सेसन क्षेत्रमा सडक तथा भुइँतल्लाका पसलहरू पानीमा डुबेको दृश्य सार्वजनिक गरेका छन् । सडकमा मानिसहरू घुँडासम्मको पानीमा हिँडिरहेका देखिन्छन् ।

Image

झेजियाङको वेन्लिङका ९ वर्षीय बालक समुद्रमा बगेपछि बेपत्ता भएको विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, चिनियाँ अधिकारीहरूले हालसम्म कुनै मानवीय क्षतिको पुष्टि गरेका छैनन् ।

मौसमविद्हरूका अनुसार आगामी केही दिनमा झेजियाङका केही क्षेत्रमा २५० देखि ५०० मिलिमिटरसम्म वर्षा हुन सक्नेछ ।

झेजियाङको राजधानी हाङझाउमा तीव्र हावा र बाढीका कारण सुरक्षित स्थान खोजिरहेका चालकहरूका लागि सार्वजनिक पार्किङस्थलको शुल्कसमेत हटाइएको छ ।

Image

वेनझाउमा करिब ९ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १ हजारभन्दा बढी आपत्कालीन आश्रयस्थल सञ्चालनमा ल्याइएको छ । त्यस्तै, ताइझाउ शहरबाट करिब ३ लाख ९० हजार मानिसलाई घरबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

तटीय फुजियान प्रान्तमा दर्जनौँ यात्रुवाहक फेरी सेवा स्थगित गरिएको छ भने समुद्रमा सञ्चालित १०० भन्दा बढी निर्माण परियोजनाको काम रोकिएको छ ।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ‘डोल्फिन’ले जमिनमा प्रवेश गर्नुअघि करिब ६ हजार किलोमिटर दूरी पार गरेको थियो । यसका कारण यसको सक्रिय अवधि सामान्य आँधीको तुलनामा तीन गुणाभन्दा बढी लामो भएको बताइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  २ : ५७ बजे