जलवायु सङ्कट समाधानमा साना राष्ट्रको नेतृत्व नेपालले गर्नुपर्छ :  उपसभापति शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ शृङ्खला ‘हिमचुलीको हलचल : भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

जलवायु परिवर्तनको मुद्दालाई नेपालले कसरी हेर्छ र यसमा कस्तो साझा दृष्टिकोण राख्छ भन्ने विषयमा पहिला राष्ट्रिय नीति बन्नुपर्ने उनको भनाइ छ। शर्माले कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उल्लेख गरे।

वर्तमान र आगामी सङ्कटमा ठुला राष्ट्रहरूको भूमिका रहेको भए पनि उनीहरूसँग दुस्मनी वा द्वन्द्व गर्न नहुने उनले प्रस्ट पारे। ‘ठुला राष्ट्रहरूसँग हामीले कुनै दुस्मनी वा द्वन्द्व गर्ने होइन’, शर्माले भने, ‘तथ्यमा आधारित भएर पृथ्वीको सङ्कट समाधानमा सहकार्य गर्ने कुरालाई गहिरो संवादबाट नेपालले नै नेतृत्व गर्ने अग्रसरता लिनुपर्छ।’

यसका लागि कूटनीतिक परिपक्वता र सहकार्यको बृहत्तर भावना आवश्यक पर्ने उनले बताए । सानो हिमवत्खण्डमा रहेको राष्ट्रले विशाल पृथ्वीको रक्षाका लागि सिङ्गो संसारको नेतृत्व गर्न सक्छ भन्ने सन्देश दिनुपर्नेमा उनले जोड दिए।

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र साहले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको मानवीय र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्ने शर्माले सुझाए ।  ‘अन्तर्राष्ट्रिय मञ्चमा गएर प्रधानमन्त्रीले भाषण गरेर फर्किने मात्रै होइन’, उनले भने, ‘दीर्घगामी रूपमा एउटा दूरदर्शी राजनीतिज्ञ बनेर सिङ्गो संसारको प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट साझा धारणा राख्नुपर्छ।’

मृत्युको तथ्याङ्क प्रस्तुत गर्दा विश्वको ध्यानाकर्षण हुने गरी केही भावनात्मक विषय पनि समेट्न उनले आग्रह गरे। शर्माले १४ सयभन्दा बढीको मृत्यु भएको तथ्याङ्क र केही मार्मिक घटनाहरूको उदाहरण दिए। ‘म सम्झिन्छु ११ वर्षकी खुश्बु कार्कीलाई, जो सिन्धुपाल्चोकमा बुबाको क्रियामा बसेकी छन् र बाटोतिर टोलाएर बुबा आउनुहुन्छ भनी पर्खिरहेकी छन्’, उनले भने ।

राष्ट्रिय बाल अधिकार परिषद्को प्रतिवेदनअनुसार ४९ जना बालिका र ५३ जना बालकले दुवै अभिभावक गुमाएको तथा ६ हजारभन्दा बढी बेपत्ता भएको उनले स्मरण गराए। यी क्षतिको दाबी मात्र नभई विश्वलाई घच्घच्याउने गरी प्रस्तुत हुनुपर्ने उनको भनाइ छ। शर्माले नीति प्रतिष्ठानका साथीहरूले यससम्बन्धी तयारी गरिरहेको र छिट्टै प्रधानमन्त्रीलाई भेटेर लिखित रूपमै सुझाव बुझाउने जानकारी दिए।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १२ : ४८ बजे