काठमाडौँ : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर आज झन् धेरै देखिने मौसमविदले बताएका छन् । त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ ।
पानी पार्ने प्रणालीले शुक्रबार कोशी प्रदेशमा हल्का वर्षा भएको थियो । काठमाडौं उपत्यकामा पनि पानी छिट्याएको थियो । तर आज भने पानीको मात्रा थप बढ्ने र धेरै क्षेत्रमा फैलिने सम्भावना छ ।
नेपाल मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात कमजोर भइसके पनि सोको प्रभावले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेकाले सजग हुनुपर्ने बताइन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ ।
यसको असर शनिबारदेखि क्रमश: कमजोर बन्दै जाने पूर्वानुमान छ ।
यसको प्रभाव रहँदासम्म उच्च हिमाली भेगमा हिमपात र तराई–पहाडमा वर्षा गराउने भएकाले उच्च सतर्कताका साथ रहन सबैलाई सरकारले अनुरोध गरेको छ ।





प्रतिक्रिया