भारतको राजधानी नयाँदिल्लीमा जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पुनः बढ्न थालेको छ । वायुको गुणस्तर मापन सूचकांक (एक्यूआई) ३७७ पुगेपछि दिल्लीमा स्वास्थ्य जोखिम बढेको छ ।
दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा पुगेको हो । प्रदूषण मापन गर्ने एक्यूआई सूचकांकले हावामा रहेको पीएम २.५ लगायतका सूक्ष्म कणको मात्रा मापन गर्छ । यस्ता कण फोक्सोसम्म पुग्न सक्ने भएकाले लामो समयसम्म प्रदूषित हावामा श्वास फेर्दा श्वासप्रश्वाससम्बन्धी समस्या निम्तिनुका साथै विद्यमान स्वास्थ्य समस्या थप जटिल बन्न सक्छन् । बालबालिका र वृद्धवृद्धा यसको बढी जोखिममा छन् ।
प्रदूषण नियन्त्रणका लागि दिल्ली सरकारले ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी) को दोस्रो चरण लागू गरेको छ । यसअन्तर्गत सडकको धुलो, सवारीसाधनबाट निस्कने धुवाँ र प्रदूषणका अन्य स्रोत नियन्त्रण गर्न थप कडाइ गरिनेछ ।
नयाँ व्यवस्थाअनुसार सडक सफाइलाई तीव्रता दिने, निजी सवारीसाधनको प्रयोग निरुत्साहित गर्न पार्किङ शुल्क बढाउने र सार्वजनिक यातायात सेवा विस्तार गर्ने निर्णय गरिएको छ । दिल्ली मेट्रोले साताका कार्यदिनमा थप २० वटा रेल सेवा सञ्चालन गर्ने भएको छ । ट्राफिक जाम कम गर्न सरकारी कार्यालयको समयसमेत फरक–फरक बनाउने तयारी गरिएको छ ।
आगामी केही दिनसम्म वायुको गुणस्तर अति खराब रहने पूर्वानुमानपछि यी उपाय लागू गरिएको अधिकारीहरूले बताएका छन् ।
दिल्ली र उत्तर भारतका आसपासका क्षेत्रमा प्रत्येक वर्ष जाडोयाममा वायु प्रदूषण गम्भीर बन्ने गरेको छ । विशेषगरी भारतको प्रमुख पर्व दीपावली आसपास प्रदूषण थप बढ्ने गर्छ । दीपावलीमा बालिने पटाका र आतसबाजीबाट निस्कने धुवाँ तथा हानिकारक ग्यासले वायु प्रदूषण थप चर्काउने गरेको छ ।
वायु प्रदूषण बढ्नुमा सवारीसाधनको धुवाँ, औद्योगिक उत्सर्जन, तापक्रममा गिरावट, हावाको गति कम हुनु र छिमेकी राज्यमा कृषि अवशेष जलाउनु प्रमुख कारण मानिएका छन् ।
यसपटक अक्टोबर महिनामा भने दिल्लीको वायु गुणस्तर पछिल्लो आठ वर्षयताकै राम्रो देखिएको थियो । तर त्यसपछि प्रदूषणमा एकाएक वृद्धि भएको हो ।
विज्ञहरूका अनुसार तापक्रम घट्नु, हावाको गति सुस्त हुनु र छिमेकी राज्य पञ्जाब तथा हरियाणामा बाली काटेपछि बाँकी रहेका अवशेष जलाउने क्रम बढ्नुले प्रदूषण चर्किएको हो ।
केही दिनअघि आएको आँधी र वर्षाले हावामा रहेका प्रदूषित कण हटाउन सहयोग गरेको थियो । तर मौसम सामान्य भएसँगै उत्तरपश्चिमी हावा चल्न थालेपछि खेतमा जलाइएको परालको धुवाँ दिल्लीसम्म आइपुगेको छ ।
भारतको प्रदूषण नियन्त्रण निकायले एक्यूआई ३०१ देखि ४०० सम्मलाई ‘अति खराब’ र ४०० भन्दा माथिलाई ‘गम्भीर’ श्रेणीमा राखेको छ । बुधबार बिहान दिल्लीको एक्यूआई ३७७ पुगेको थियो ।
एक्यूआई मापन गर्दा पीएम २.५ सहित आठ प्रकारका प्रमुख प्रदूषकलाई आधार मानिन्छ । पीएम २.५ का कण मानव कपालको मोटाइभन्दा करिब ३० गुणा साना हुन्छन् र श्वासमार्फत फोक्सोको भित्री भागसम्म पुग्न सक्छन् ।
दीपावली नजिकिँदै गर्दा पटाका र आतसबाजीका कारण प्रदूषण अझै बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । आतसबाजीबाट निस्कने सूक्ष्म कण र हानिकारक ग्यासले दिल्लीको पहिले नै बिग्रिएको वायु गुणस्तर थप खराब बनाउन सक्छ ।





प्रतिक्रिया