विदेशी इशारामा बनेको दश मुखे गठवन्धनले नेपालको पक्षमा काम गर्न सक्दैन : ओली



नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दशतिर फर्किएका दशमुखे गठबन्धनले देशलाई आर्थिक संटकतर्फ धकेलेको बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकार विदेशी इसारामा बनेकोले नेपाल र नेपालीको पक्षमा काम गर्न नसक्ने पनि बताएका छन् ।


कपिलवस्तुमा शनिवार आयोजित मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेप्रति चौतर्फी घेराबन्दी, हमला भएको दाबी गर्दै आफ्नो पार्टी सरकारमा हुँदा थालनी गरेका राष्ट्रिय गौरवका योजना कार्यान्वयनका निम्ति वडादेखि प्रतिनिधि सभासम्म मिसन एकाउन्न प्रतिशत निर्वाचित हुनुपर्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गरे ।

देशलाई अझै बढी तहसनहस हुन नदिन एमालेलाई अझै बलियो शक्ति बनाउनुपर्ने गरी जुट्न नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन् । एमालेको सरकारका पालामा शुभारम्भ गरेका राष्ट्रिय गौरवका योजना अहिलेको सरकारले रोक्न थालिसकेको उनको आरोप थियो ।

‘देशको बलियो शक्ति बनेको उनीहरूलाई सह्य भएन, हामी विदेशीको इशारामा नचलेको उनीहरूलाई मन परेन, हामीले विकास र समृद्धिका योजना बनाएको उनीहरूलाई पच्दै पचेन, अनि अनेकन तिकडम चालेर दशमुखे गठबन्धन बनाएका छन् । उनीहरूकै निर्वाहका लागि बनेको हो, नेपाल र नेपालीका लागि होइन’ ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले नेकपा एमाले वैचारिक, संगठनात्मक, समृद्ध, सम्पन्न समाज बनाउने र देशलाई गरिबीतर्फ धकेल्नेहरू बीचको लडाई लडिरहेको बताए । उनले भने, ‘देश विकास देख्न नसक्ने प्यादाहरू जुटेका छन्, दशतिर मुख फर्केकाहरू कसरी आफ्नो स्रोत जुटाउन सकिन्छ भनेर लागेका छन्, उनीहरूलाई विकासका योजना के हुन्, कसरी देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने सोच नै छैन ।’

पूर्व प्रधानमन्त्री ओलीले आफ्नो सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेल वे, अपर तामाकोसी, मेलम्ची खानेपानी, तुइन समाप्त पार्ने जस्ता महत्त्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशत बढी भएको बताए ।

ओलीले आफूहरूको पालामा युवा विदेश जाने क्रम १८ प्रतिशतले न्यून रहेको बताउँदै नागरिकलाई समान अधिकार, सामाजिक न्यायसहितको समानता चाहेको र समाजलाई सदाचारयुक्त, सुशासनयुक्त समाज निर्माण गर्दै देशको स्वाधीनता, स्वतन्त्रता, भूमिको रक्षा गर्न, देशको स्वाभिमान र गौरव बढाउन, बलियो राष्ट्र बनाउन नेकपा एमालेको नेपाली जनताको पार्टी एमालेको बलियो संगठन आवश्यक रहेको चर्चा गरे ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ४७ बजे