महिला दिदीबिहिनीले गर्दा पार्टी बलियो: अध्यक्ष ओली




काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गरे । उनले महिला दिदी–बहिनीले पार्टीलाई विभिन्न चक्रब्यूहबाट जोगाएकोसमेत उल्लेख गरेका छन् ।

“महिलाहरू हरेक तरबार हो । एमालेका विरुद्ध कसैले तरबार चलायो भने ढाल बनेर महिलाले छेकेका छन्”, उनले भने, “महिला दिदीबहिनीको योगदान गर्दा पार्टी सुरक्षित भएर जोगिएर फेरि देशको प्रमुख पार्टीको हैसियतमा उभिएको छ ।” एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई महिला दिदी–बहिनीले प्रभावकारी, अनुसाशित र गतिशीलरूपमा अगाडि बढाएको समेत बताए । उनले महिला अगाडि उभिएकाले एमालेलाई कसैले पनि हल्लाउन नसक्ने बताए ।

“एमाले कसैले किन हल्लाउन सक्दैन, दुर्गाकाली नवदुर्गा भएर हाम्रा महिला दिदीबहिनी अगाडि उभिनुभएको छ”, उनले भने । अस्तव्यस्त पार्न थालिएको एमालेको सङ्गठनलाई बलियो र खदिलो बनाएर अगाडि बढाइएको भन्दै उनले पुराना पुस्ताले पार्टीमा नयाँ पुस्ता जोडिँदै जानुपर्ने बताए । नेपालको महिला आन्दोलन जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सफलतापूर्वक अगाडि बढेको उनको धारणा रहेको थियो ।

पार्टीमा गुटबन्दी र पक्ष–विपक्ष छैन
अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको स्पष्ट पारेका छन् । “एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन । सबै एकजुट रहेका छन्”, उनले भने, “स्वार्थका लागि कसैले यस्तो उस्तो नगर्नुहोस् । स्वार्थका लागि साना–साना समूह नबनाउनुहोस् ।”

उनले एमालेका जातीय सङ्गठनले जातीय वैमनश्यता नभई राष्ट्रिय एकताका लागि काम गर्नेसमेत बताए । एमालेका हरेक सङ्गठन गतिशील हुने भन्दै उनले अनेमसङ्घले सक्षम महिला नेतृ उत्पादन गर्दै नेपालका महिला दिदी–बहिनीलाई सचेत र सशक्त बनाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भनेको आजको नेपालको जनताको बहुदलीय जनवाद रहेको बताए । सामाजिक परिवर्तन गर्नका लागि पार्टीमात्र भएर पुग्दैन भनेर नै सामाजिक सङ्घसङ्गठनको रूपमा विभिन्न जनसङ्गठन स्थापना गरिएको उनको भनाइ छ ।

कार्यक्रममा अनेमसङ्घका अध्यक्ष थममाया थापामगरले एमालेको एकल बहुमतको सरकार नबनेसम्म संविधान र कानुनमा व्यवस्था भएका महिलाका अधिकार व्यवहारमा कार्यान्वयन गर्न समस्या आउने बताइन् । उनले अनेमसङ्घले तीन वर्षभित्र आफ्नो भवन बनाउनेसमेत बताइन् । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ४७ बजे