अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार  मुद्दामा दोषी, पीडितलाई ५० लाख दिन अदालतको फैसला



अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार  सम्बन्धी मुद्दामा दोषी ठहरिएका छन् ।
न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर्याएको छ । अदालतले पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।

एक म्यागेजिनकी लेखिका ई जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार  गरेको आरोप लगाएकी थिइन् । साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । बीबीसीका अनुसार, यही मुद्दामा ट्रम्पलाई अदालतले दोषी ठहर्याएको हो ।

ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन । ट्रम्पले सुरुदेखि नै यो आरोपमा सत्यता नभएको र आफूले ती महिलालाई नचिन्ने बताएका थिए ।
अदालतको फैसलापछि पनि उनले आफूलाई राजनीतिक रुपमा फसाइएको र ती महिलासँग आफ्नो कुनै सम्वन्ध नरहेको बताएका छन् । राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा फैसलाले थप प्रतिकूलता थपेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : ५८ बजे