श्रीलङ्कामा यो वर्ष सडक दुर्घटनामा एक हजार ४३ जनाको मृत्यु



कोलम्बो । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल ८,८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दिर्घटनामा १,०४३ जनाको मृत्यु भएको छ । यातायात मन्त्री लासान्था अलागियावान्नाले सोमबार सो जानकारी गराउनु भएको हो ।

यी दुर्घटनामा अधिकांश बस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारी साधन रहेको पनि मन्त्रीले सञ्चारमाध्यमलाई बताउनु भएको छ ।

यसैबीच दुर्घटना न्यूनीकरणका लागि सहकार्यात्मक कार्ययोजना अघि बढाइएको छ । पश्चिमाञ्चल प्रदेशमा मदिरा र लागुऔषध सेवन गरी सवारी चलाउने चालकको पहिचान गर्न मे १८ गतेदेखि पाइलट कार्यक्रम शुरु गरिएको मन्त्रीले बताउनु भएको छ ।

सोमबारदेखि आइतबारसम्म पश्चिमाञ्चल प्रदेशमा लागुऔषध सेवन गरी सवारी चलाएको आशङ्कामा एक हजार ७८१ चालकको परीक्षण गरिएको राज्यमन्त्रीले जानकारी दिनुभएको छ ।

श्रीलङ्कामा सन् २०२२ मा करिब १९ हजार ७४० सडक दुर्घटना भएको थियो जसमा दुई हजार चार सय ८५ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ३ : २९ बजे