कोरोनाविरुद्ध स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह



सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमणदर बढिरहेकाले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरूलाई कोरोना संक्रमणदर बढिरहेकाले संक्रमणदर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको अधिकारीले बताए । पछिल्लो समय कोरोना संक्रमणदर कम भएसँगै आमसर्वसाधारणहरूले स्वास्थ्यका मापदण्ड पालना गर्न छाडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको उनले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने, ‘हामी विश्वव्यापी रुपमा कोभिड-१९ को संक्रमण वा कुनै नयाँ किसिमको संक्रमण आउँदा थाहा पाउने, त्यसको विश्लेषण गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्ममा सधैँ जोडिरहेका हुन्छौँ । अन्तर्राष्ट्रिय स्वास्थ्य विधि नियमावली अनुसार फोकल पर्सनको हिसावले, फोकल इस्युको हिसावले पनि हाम्रो सबै कुराहरुको जानकारी भइरहेको हुन्छ । अहिले पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढिरहेको छ । विश्वव्यापी रपमा संक्रमण घटेको भए पनि हामी बसको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ । पहिलो लहरमा भारतमा संक्रमण्को उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको अवस्थाहामीले भोगेका छौँ । अहिले भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ ।’

यस्तै विदेशबाट आउने नागरिकलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन पनि अधिकारीको आग्रह छ । साथै कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाहरुलाई समयमै कोरोनाविरुद्धको खोप लगाउन पनि अधिकारीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : ०२ बजे