प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो कि होइन ?



सरकारले ल्याएको नीति तथा कार्यक्रममा भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने विषय स्पष्ट रूपमा नराखेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट जवाफ मागेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याउने कार्यक्रम नराखेको भन्दै आलोचना गरेका हुन् ।

नीति तथा कार्यक्रममामाथि बोल्ने क्रममा ओलीले भने, ‘महत्वपूर्ण कुरा के देखिन्छ भने ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ । शरम लाग्छ, योभन्दा कायरता के हुन्छ ?’

आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्सामा राखेको स्मरण गर्दै ओलीले अहिलेको सरकारबाट जवाफ मागेका हुन् । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो को कि होइन ? प्रधानमन्त्रीज्यूबाट जवाफ स्पष्ट भाषामा हामी चाहन्छौं । सदनले चाहन्छ, प्रतिपक्षले चाहन्छ, नेपाली जनताले चाहन्छ,’ उनले सोधे, ‘नेपालको भूमि नेपालको हो भन्न सक्नुहुन्न भने, यो फिर्ता ल्याउने प्रयास गर्छु भन्न सक्नुहुन्न भने, सरकारको नेतृत्व गर्ने भनेको के हो ? गर्न केही पनि सक्नुहुन्न, राष्ट्रिय हितको रक्षा गर्न सक्नुहुन्न, भूमिको रक्षा गर्न सक्नुहुन्न, अखण्डताको रक्षा गर्न सक्नुहुन्न, आफ्नो भूमिलाई आफ्नो भूमि भन्न सक्नुहुन्न अनि के हो सरकारको नेतृत्व भनेको ? नेतृत्वविहीन भएन सरकार ? प्रतिपक्षले नेतृत्व लिनुपर्ने राष्ट्रिय हितको ? भौगोलिक अखण्डताको जिम्मेवारी प्रतिपक्षको जिम्मा हो ? सरकारले केही गर्नु पर्दैन ? जवाफ चाहिन्छ ।’

सरकार राष्ट्रिय हितलाई केन्द्रमा राखेर अगाडि नबढेको ओलीको भनाइ थियो । सरकारले मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ बनाउने भनेको तर व्यवहारमा ‘कोल्टे’ देखिएको ओलीको आरोप थियो।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ६ : ३९ बजे