प्रधानमन्त्री देउवाविरुद्ध नारावाजी र कालोझण्डा, प्रदर्शनकारी नियन्त्रणमा



दृष्टान्त संवाददाता (काठमाडौं, ९ साउन) – अमेरिकी आर्थिक परियोजना एमसीसी र नागरिकता विधेयक नेपालको हितमा नरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारावाजी भएको छ ।
राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध राष्ट्रघात गरेको आरोप लगाउँदै दुई युवाले कालाझण्डा देखाएका थिए ।

उनीहरुले राष्ट्रिय एकताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौं, नागरिकता विधेयक खारेज गरजस्ता नारा लगाएका थिए । उनीहरुले प्रधानमन्त्री देउवालाई एमसीसीको मतियारसमेत भनेका छन् । प्रहरी उनीहरुलाई लगत्तै नियन्त्रणमा लिएको छ ।
एमसीसी र नागरिकता ऐन संसोधन विधेयक नेपालको हितमा नरहेको भन्दै त्यसप्रति असन्तुष्टी व्यक्त भइरहेको छ । प्रतिनिधिसभाबाट पारित भएको नागरिक ऐन संसोधन विधेयकमा नेपाली पुरुषले विवाह गरेर ल्याएकी बुहारीलाई तुरुन्तै नागरिकता दिन सकिने प्रावधान छ । नेपाली कांग्रेसबाहेक सत्तारुढ माओवादी र एकिकृत समाजवादीका केही सांसद र नेतासमेत यो प्रावधानको विपक्षमा देखिन्छन् ।
यी दुवै निर्णय प्रधानमन्त्री देउवाको नेतृत्वमा भएका हुन । प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति थापाले जीवनमा गरेका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएको बताए ।
“थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ, उहाँले मानापाथी व्यवस्थित गरेर नापतौलको मापन गर्नुभयो, चिट्ठीपत्र ओसारपसारका लागि पनि भीमसेन थापाले काम गर्नुभएको छ” उनले भने ।
महत्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको उल्लेख गर्नुहँुदै उहाँले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्मााणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गर्नुभयो ।
कार्यक्रममा रु एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापाले भक्ति थापाका विषयमा अध्ययन अनुसन्धानका लागि पुरस्कारबाट प्राप्त रकमलाई सदुपयोग गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रा डा त्रिरत्न मानन्धर, प्रतिष्ठानका सदस्य–सचिव लक्ष्मण थापालगायतले नेपालको एकीकरण, इतिहास एवं राजनीतिक क्षेत्रमा भीमसेन थापाले गर्नुभएको महत्वपूर्ण कामका बारेमा व्याख्या गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ४९ बजे