-करको दायरा हेरफेरमा वाहिरिया घुसपैढ प्रकरण -

तत्कालिन अर्थमन्त्री शर्मालाई ‘क्लीन चिट’ दिने नदिनेमा समिति विभाजित



काठमाडौं, ११ साउन – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिले शुक्रवार प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।
तर समिति सर्वसम्मत निश्कर्षमा पुग्न सकेको छैन । समितिका सदस्यवीच तत्कालिन अर्थमन्त्री शर्मालाई क्लिनचिट दिने वा नदिने भन्नेबारेमा सहमति हुन सकेको छैन ।
विधि विज्ञान प्रयोगशालाले रिकभर गरेर पठाएको सीसीटीभी पनि प्रष्ट नभएपछि समितलाई निस्कर्षमा पुग्न नसकेको हो । सत्तारुढ सांसदहरु तत्कालीन अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कुनै पनि प्रमाण नभेटिएकाले उनलाई क्लीन चिट दिनुपर्ने पक्षमा छन् भने एमाले सांसदहरु यसमा सहमत छैनन् ।
अर्थ मन्त्रालयबाट पठाउँदा नै केही फुटेजहरु हार्ड डिस्कबाट डिलिट भएको हुन सक्ने आशंका उनीहरुले व्यक्त गरेको स्रोतले बतायो । साथै, विवाद आउनासाथ सीसीटीभी फुटेज सार्वजनिक नगरेको अवस्थामा अर्थमन्त्रीलाई क्लीन चिट दिन नसकिने उनीहरुको राय छ ।
सत्तारुढ दलका सांसदहरु भने सीसीटीभी फुटेजबाट पनि बाहिरी घुसपैठ स्पष्ट नभएको तथा कसैले पनि घटना नस्वीकारेको हुँदा अर्थमन्त्रीलाई निर्दोष ठहर गर्नुपर्ने पक्षमा उभिएका छन् ।
तर समितिले सबैको समान धारणा बनाएर प्रतिवेदन लेखिने सदस्य सचिव सुरेन्द्र अर्यालले दाबी गरेका छन् । सहमतिमा नआएका सांसदहरुसँग पुनः छलफल गरेर भए पनि सहमति जुटाइने उनले बताए । ‘फरक मत भएका विषयहरुलाई साँघुरो बनाएर प्रतिवेदनमा समावेश गर्ने भनेर छलफल भएको छ,’ उनले भने ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ९ : ५० बजे